
आज विकास, विज्ञान तथा प्रविधिको क्षेत्रमा फड्को मारेको चीनको राजधानी सहर बेइजिङ संसारकै ऐतिहासिक सहरमध्येको एक हो। पाँच हजार वर्षको इतिहास सङ्ग्रहित चीनमा बेइजिङसँग त्यस्ता अनेकन् पुरातात्त्विक सम्पदा संरक्षित छन्। आधुनिक बेइजिङसँग भएका पुरातात्त्विक सम्पदामध्येको एक हो, बेइजिङको सिछङ जिल्लाको फुछङमनमा अवस्थित नेपाली कलाशैलीको गगनचुम्बी श्वेतचैत्य।
सबै नेपालीलाई ज्ञात छ कि यो विशाल श्वेतचैत्य नेपाली कला शैलीको मात्रै होइन यसको निर्माणकर्ता पनि नेपाली हुन्। तर यो वास्तुकला शिल्प नेपाली हो। यो १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले बनाएका हुन् भनेर जोकोहीलाई सविस्तार सुनाउँदा नेपाली मन गौरवान्वित हुन्छ। किनभने बेइजिङमा ७५० वर्षभन्दा अघि नै नेपालीको आउनेजाने र यसरी वास्तुकला र शिल्पको प्रसार र निर्माण गरेका थिए भन्ने कुरा आज अपत्यारिलो लाग्न सक्छ।
कतै प्रसंगवश कुरा गर्दा या त्यहीँ श्वेतचैत्यस्थल पुग्ने जोकोही चिनियाँ वा विदेशी यो जानेर एकपटक छक्कै पर्छन्। कतिपय चिनियाँ त बेइजिङको सात सय ५० वर्ष पुरानो श्वेतचैत्य नेपाली वास्तुविद्ले बनाएको बुझेर स्याङपुताओ!! (ओहो! अचम्म) भन्दै आश्चर्यभाव प्रकट गर्छन्।
यो पङ्क्तिकारलाई भने विशाल सहरबीचको यो विशाल चैत्य परिसर पुग्दा काठमाडौँ पुगेझैँ हुन्छ। प्रांगणभित्रको लिंगोले वसन्तपुर र जात्राको रङ्गको सम्झनाले मन चञ्चल बनाइदिन्छ।
यसरी क्षणमा काठमाडौँ पुर्याइदिने यो श्वेतचैत्यमा हालै सप्ताहव्यापी सांस्कृतिक मेला लागेको थियो। विदा र नेपाली चाडपर्वको अवसर पारेर बेइजिङमा जाने गरेका केही ठाउँमध्येको एक, यो पवित्र ठाउँमा मेला लागेको बेला नजाने सवालै उठ्दैन।
श्वेतचैत्य निर्माणको सात सय ५० वर्ष पुगेको अवसरमा चार वर्षअघि श्वेतचैत्य व्यवस्थापन समितिले पहिलोपटक सांस्कृतिक मेलाको आयोजना गरेको थियो जुन तीन महिनासम्म चलेको थियो। त्यसपछि लगातार हरेक वर्ष यसरी साप्ताहिक मेलाको आयोजना गर्दै आएको छ। यसपटक पनि मेला शुभारम्भको दिन, जुन १४ तारिख शनिबार बिहानै पुगेको थिएँ। भीषण वर्षाले शुभारम्भ कार्यक्रम बिथोल्न खोज्दै थियो र अरू धेरै नेपाल चीनमैत्री सम्बन्धका हितैषी र अरनिकोको सीपकलाका पारखी जसरी म पनि रूझेर भिजेर कार्यक्रममा पुगेँ।
बेइजिङको केन्द्र भाग थ्येनआनमनबाट थोरै उत्तरपश्चिममा यो विशाल श्वेतचैत्य अवस्थित छ।
‘सांस्कृतिक सम्पदा सदाका लागि जीवित छ, चीन नेपाल मित्रता सदाबहार छ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको शुभारम्भ चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, एसियाली मामिला विभागका प्रतिनिधि, बेइजिङ नगर सम्पदा विभागका प्रतिनिधि, सिछङ जिल्लाका अधिकारी, क्यापिटल संग्रहालय र श्वेतचैत्य व्यवस्थापन कार्यालयका पदाधिकारीलगायतकाले संयुक्त रुपमा गरेका थिए।
शुभारम्भअघि चालु वर्ष चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदै गरेको परिप्रेक्ष्यमा चिनियाँ र नेपाली सभ्यताबीचको आदानप्रदानलाई प्रवर्धन गर्न, जनस्तरमा सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्न र हिमालयपार चीन र नेपालबीचको मित्रता नयाँ उचाइमा पुर्याउने उद्देश्यमा आयोजकका तर्फबाट चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा ब्युरोअन्तर्गत सम्पदा क्षेत्र विभागका उपमहानिर्देशक चाङ लै र बेइजिङ नगरपालिकाको सांस्कृतिक सम्पदा ब्युरोका उपमहानिर्देशक सोङ हाउच्येले आआफ्ना धारणा राखे।
यसैगरी चीनका लागि नेपाली राजदूत डा। कृष्णप्रसाद ओलीले विभिन्न कालखण्डमा चिनियाँ र नेपाली भिक्षुले भ्रमण गरेर दुई देश बीचको सम्बन्धलाई विकास गरेको उल्लेख गर्दै कलाकार अरनिकोले मित्रवत् सम्बन्धमा अझै ठूलो योगदान दिएको औँल्याए। नेपालका लागि चिनियाँ राजदूत छन सोङले भिडियो सन्देशमार्फत दुई सभ्यताहरूबीचको आदानप्रदान र पारस्परिक सिकाइलाई प्रवर्द्धन गर्न, जनता-जनताबीचको आदानप्रदानलाई विस्तार गर्न र हिमालयपार चीन-नेपाल मित्रतालाई नयाँ उचाइमा पुर्याउन यस्ताखालका कार्यक्रम विशेष उपयोगी हुने बताए।
यो सांस्कृतिक सप्ताहले आगामी दिनमा चीन र नेपालबीचको परम्परागत मित्रतालाई कसिलो बनाउन र मितेरी पुलको रूपमा अझ राम्रो तरिकाले भूमिका खेल्नेनै छ। साथसाथै, यस्ता मेला र विशाल श्वेतचैत्य अवस्थित म्याओयिङ मन्दिरबाट नेपाली कला, नेपाली संस्कृति तथा समग्र रूपमा नेपाल प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।
बेइजिङ म्युनिसिपल एडमिनिस्ट्रेसन अफ कल्चरल रेलिक्स, क्यापिटल म्युजियम र बेइजिङ श्वेतचैत्य मन्दिर व्यवस्थापन कार्यालयद्वारा सञ्चालित ‘२०२५ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’ मा चीनका विभिन्न सरकारी विभागका अधिकारी तथा चिनियाँ संघसंस्थाका प्रतिनिधिको सहभागिता भए पनि नेपाली सुमदायको भने उपस्थिति न्यून देखिन्थ्यो।
यो श्वेतचैत्य १३औँ शताब्दीमा संस्कृति र कलाको धनी देश महान् चीनमा नेपालका राष्ट्रिय विभूति अरनिकोले बनाएको अमर कीर्ति हो। चिनियाँले पाई था स भनिने श्वेतचैत्य नेपाली कलाकार अरनिकोले युआन राजवंशकालमा निर्माण गरेका हुन्। इस्वी संवत् १२७१ मा निर्माण थालिएको यो चैत्य १२७९ मा पूरा भएको उल्लेख छ। नेपाली कलाशैलीको गगनचुम्बी श्वेतचैत्य नेपाल र चीनको सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षी हुनुका साथै चीनको युआनवंशको चिनोको रूपमा पनि रहेको छ। युआन राजवंशकालमा अरनिकोले आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए।
अरनिको सन् १२६० मा ८० जना कलाकारको नेतृत्व गरी तिब्बत हुँदै चीन पुगेका थिए। उनले चीनमा ३ वटा ठूला प्यागोडा र ९ वटा गुम्बाको निर्माणसँगै अनगिन्ती कृतिहरूको रचना गरेका थिए। उनले कला विद्यालयको निर्माण गरे, ठूलो संख्यामा कलाकार समेत हुर्काए। वास्तुकलाबाहेक उनी काष्ठकला, चित्रकलालगायतका विविध कलामा निपुण थिए। साथै उनी इन्जिनियरिङ विधामा समेत पोख्त रहेको चिनियाँ इतिहासमा उल्लेख छ।
सन् १२४४ मा नेपालको पाटनमा जन्मिएको मानिने प्रसिद्ध कलाकार अरनिकोको चीनमा सन् १३०६ मा मृत्यु भएको थियो। राष्ट्रिय विभूति अरनिकोद्वारा निर्मित यो विशालकाय श्वेतचैत्य नेपाली वास्तुकला, नेपाली कलाकार र नेपालीको गौरव तथा चिनियाँ राष्ट्रको शान, राष्ट्रिय एकताको प्रतीक र नेपाल चीन बीचको मित्रताको प्रतीक बनेर उभिइरहेको छ।
यो श्वेतचैत्यलाई चीन सरकारले महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गरेको छ। सन् १९४९ मा जनगणतन्त्र चीन स्थापनापछि बेइजिङ नगरपालिका पार्टी समिति र नगरपालिका सरकारले श्वेतचैत्य तथा मन्दिरको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षणलाई ठूलो महत्त्व दिँदैआएको छ। ऐतिहासिक तथा सांस्कृतिक मूल्यका कारण मार्च ४, १९६१ मा म्याओयिङ मन्दिरसहित श्वेतचैत्यलाई राज्य परिषद्द्वारा राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण एकाइहरूको पहिलो ब्याचका रूपमा घोषणा गरिएको थियो।
नयाँ चीन स्थापनापछि पनि यसको नौपटक जीर्णोद्धार भइसकेको छ। पछिल्लो दस वर्षमा दुईपटक मर्मत कार्य भएका छन्। यो श्वेतचैत्य तथा मन्दिर परिसरमा धेरैपटक मानवीय तथा प्राकृतिक क्षति पनि भएका छन्।
युआन राजवंशको शाही मठका रूपमा रहेको यो श्वेतचैत्य र मठमन्दिरमा सन् १३६८ मा ठूलो क्षति भएको थियो। चट्याङले श्वेतचैत्यबाहेक सबै मन्दिर र भवन ध्वस्त पारेको थियो। सन् १९०० ताका आठ एलाइन्स फोर्सले बेइजिङमा मच्चाएको लुटपाटमा सो मन्दिर क्षेत्र पनि परेको थियो।
यसै गरी, सन् १९७६ मा गएको ७।६ म्याग्निच्युडको थाङसान भूकम्पले श्वेतचैत्यलाई समेत ठूलो क्षति पुर्याएको थियो। सन् १९७८ मा यसको पुनःनिर्माणपछि सन् १९८० बाट सर्वसाधारणलाई खुला गरिएको थियो।
यसबाहेक सन् १९६६ मा सांस्कृतिक क्रान्ति सुरु भएपछि मन्दिरका केही भाग भत्काइएर सपिङ मलमा रूपान्तरण गरिएकोमा सन् १९९७ मा बेइजिङ नगरपालिका सरकारले श्वेतचैत्य तथा मन्दिरका भवन पुनःनिर्माण गरी सन् १९९८ देखि म्याओयिङ मन्दिरलाई पुरानो स्वरूप दिँदै सञ्चालनमा ल्याएको उल्लेख छ।
नेपाली कलाकारद्वारा निर्मित यो श्वेतचैत्य तथा मन्दिरको आमनेपालीलाई जानकारी दिने श्रेय वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीलाई जान्छ। त्यसअघि केही पश्चिमा लेखकले नेपाली कलाकारले चीनमा श्वेतचैत्यलगायत विविध वास्तुकला, हस्तकला निर्माण गरेको उल्लेख गरेका थिए। अहिले जोशी हामीमाझ छैनन्। उनैले नेपाली कलाकार अरनिकोबारे गहन अध्ययन गरी आमनेपालीलाई चिनाएका हुन्। उनले ‘कलाकार अरनिको’ नामक पुस्तक पनि निकालेका थिए। उनैको कष्टसाध्यबाट चीनमा बसेर मूर्तिकला, वास्तुकला, चित्रकलालगायतका विविध नेपाली कला र संस्कृति नेपाल बाहिर पुर्याउने तथा फैलाउने नेपाली कलाकार अरनिकोबारे आमनेपालीले जानकारी पाएका थिए।
यसरी चीनको राजधानी शहर बेइजिङमा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेर झण्डै ७५० वर्षदेखि उभिएको यो श्वेतचैत्य नेपाली कलाकार अरनिकोले बनाएका हुन्, जसले आमनेपालीलाई गौरवान्वित बनाएको छ। हिमाल र नदीनालाले जोडेको चीन र नेपाल बीचको इतिहासमा यो सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षी पनि हो।
यसै प्राङ्गणमा अरनिकोको शालिक पनि राखिएको छ। जुन चीनमा अध्ययन गरेर नेपाल फर्किएकाहरूले खोलेको संस्था, अरनिको समाजले सन् २००२ मा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो। यसरी श्वेतचैत्य बनाउने कलाकारको कल्पनामा बनाइएको शालिक पनि आज श्वेतचैत्यको आकर्षण बनेको छ। यही परम्परालाई अघि बढाउँदै सांस्कृतिक सप्ताह शुभारम्भको दिन रोटरी क्लब अफ भादगाउँले उपहारस्वरुप स्वयम्भू चैत्य प्रतिमा श्वेतचैत्य व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।
सो प्रतिमा हस्तान्तरणमा जियारिट्रेसियन डाक्टर जगदीश कुमार क्षेत्रीको सोच रहेको छ। डाक्टर जगदीश भन्छन्, ‘उहिले बुवाको पालामा बुवाहरूले शालिक हस्तान्तरण गर्नुभएको थियो, मैले पनि केही गर्न सकिन्छ भनेर यसो पहल गरेको हो। सामान्य प्रशासनिक कामहरू सम्पन्न भएपछि यो स्वयम्भू प्रतिमा यसरी श्वेतचैत्य व्यवस्थापनलाई हस्तान्तरण गर्न पाउँदा गर्व अनुभव गरेको छु।’
डाक्टर जगदीशले नानचिङस्थित साउथ इस्ट युनिभर्सिटीमा ७ वर्ष चिकित्सा विषयमा अध्ययन गरेपछि बेइजिङमा पनि अध्ययन गरे। बेइजिङको क्यापिटल मेडिकल यूनिभर्सिटीबाट सम्बन्धित विषयमा मास्टर डिग्रीसँगै पीएचडी उपाधि हासिल गरे। हाल सोही यूनिभर्सिटीआबद्ध हस्पिटलमा कार्यरत् छन्। यो जीर्याटिक्स विषयमा पिएचडी शोधकार्य गर्ने नेपाली डाक्टरको संख्या न्यून छ। डाक्टर जगदीश नै सम्भवतःपहिलो नेपाली पनि हुन सक्छन्।
यसरी नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव एवम् सांस्कृतिक सप्ताहको अवसरमा श्वेतचैत्य परिसरमा चीन तथा नेपालको सांस्कृतिक सम्पदा प्रवर्द्धन र दुई देशको मित्रतालाई अझै घनिष्ट बनाउने कार्यक्रम भएको छ।
अन्तमा, विश्वकै एक विशाल महानगर बेइजिङमा उभिइरहेको यो श्वेतचैत्यले त्यहाँ पुग्ने सबैलाई नेपालको प्रवर्द्धन गरिरहेको हुन्छ। दुई देशलाई पुरानो मित्रताको कथा सुनाइरहेको छ।