
काठमाडौँ– सात नेपाली आमाहरू ग्रिसको लउत्राकी (एथेन्सबाट ८० किमि टाढा) बाट ‘क्याच एन्ड सर्भ बल’ अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर नेपाल फर्केका छन्।
उनीहरु ३७ टोलीमा नवौँ भएर पर्किएका हुन्। झिनो अन्तरले क्वाटर फाइनल खेल्न नपाए पनि चार मुलुकलाई हराएर नवौँ भएका हुन्। अहिले पनि क्याच एण्ड सर्भिसबलको र्यांकिङमा नेपाल नवौँमा छ।
उनीहरु तीन हप्ताअघि युरोप गएका थिए। चार जना नेपालबाट र तीन जना इजरायलमा कार्यरत नेपाली प्रतियोगितामा भाग लिएका थिए। उनीहरूले आफ्नै पहलमा उक्त खेल खेल्न नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ गएका हुन्। यो खेल नेपालमा दर्ता प्रक्रियामा रहेको छ। त्यस्तै नेपाल खेलकुद परिषद्ले यसलाई मान्यता दिएर अघि बढाउन भने बाँकी छ।
नेपालमा यो खेलबारे चर्चा नभएको र खेलकुद परिषद् पनि यसमा खासै जानकार नरहेको कारण उनीहरू आफैँले पहलकदमी लिएर खेल्न गएका हुन्। ‘क्याच एन्ड सर्भ बल’ को पहिलो महिला विश्वकप प्रतियोगिता हो भने यो आठौँ अन्तराष्ट्रिय प्रतियोगिता पनि हो।
यो मिड एज समूहले खेल्ने नयाँ र लोकप्रिय खेल हो। यसमा बल ‘क्याच’ र ‘थ्रो’ गरेर खेलिन्छ। भलिवलकै नेट र त्यही बल यसमा प्रयोग हुन्छ। तर भलिबलमा जस्तो प्रक्रिया यसमा छैन। क्याच गर्ने र अर्को तर्फ दिने हो।
यो खेलमा पनि अंक प्राप्त गर्ने प्रक्रिया भने भलिवलकै जस्तो हो। भलिबलकै शैलीमा ६–६ जना राखेर दुई टिम खेल्ने गरिन्छ। दुई जना बेन्चमा जगेडा हुन्छन्। कम्तिमा आठ जनाको टोली हुनुपर्छ। यसपटक नेपालले युनाइटेड मिक्सबाट खेलेको थियो। किनकी सात जना मात्र खेलाडी हुनाले एक जना अर्कोको लिन पर्दा युनाइटेड मिक्स हुन पुगेको हो।
बललाई छिटो र सही तरिकाले क्याच गरेर अर्को खेलाडीलाई फाल्नुपर्छ। यस खेलमा मुख्य रूपमा द्रुतता, समन्वय र सही रणनीतिले खेलाडीको सफलता निर्धारण गर्छ। यो समुन्द्रिक तट (बीच) मा पनि खेलिन्छ।
आफूलाई भान्साबाट बाहिर निकाल्ने र स्वास्थ्य अवस्था चुस्त राख्न पनि खेल आवश्यक रहेको सहभागी महिलाहरुले बताए। ग्रिसको लउत्राकीमा चार महादेशका १८ मुलुकबाट ३७ टिम सहभागी भएका थिए। त्यसमा नेपाल नवौँ भएको हो।
नेपालबाट सहभागी खेलाडीमा माला खनाल, बिसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ, निर्मला गुरुङ, लमु आल्मोग, दिना न्यौपाने र पवित्रा ढकाल थिए। आल्मोग, न्यौपाने र ढकाल इजरायलबाटै ग्रिस पुगेर खेले। अहिले उनीहरु इजरायल फर्के भने बाँकी खेलाडी नेपाल फर्किएका छन्।
‘युरोपमा यो खेल लोकप्रिय रहेछ। दर्शक पनि अधिक हुने रहेछन्। यसमा नेपाल सरकारले पनि चासो देखाएर खेललाई अघि बढाएमा महिलाहरुको वृत्ति विकासमा एक अर्को फड्को हुनेछ,’ नेपालबाट सहभागी खेलाडी माला खनालले भनिन, ‘हामीले राम्रो तयारी गर्न सकेको भए। कप जित्न समस्या रहेनछ। हामीले केही महिना शनिबार शनिबार केही घण्टा गरेको अभ्यास र प्रतिस्पर्धाले नै पनि जर्मनी, इजरायली, साइप्रस जस्ता मुलुकका खेलाडीलाई हराउन सफल भयौँ।’
नेपालको झण्डाअंकित जर्सी लगाएर खेल खेल्दा र नेपालले जित्दा त्यहाँ हुने उत्साह नै फरक रहेछ भन्दै उनले भनिन, ‘उद्घाटनको दिन राष्ट्रको झण्डा बोकेर फहराउँदै अन्तराष्ट्रिय मैदानमा हजारौँ मानिसका अगाडि यो नेपाली शिर उचाली भन्दै गाउँदा र हाम्रो त्रिकोणात्मक झण्डा देख्दा अधिकको नजर नेपालतिर हुने रहेछ। अनि ओहो नेपाल, माउन्डेन्ड, अनि जंगल सफारि भन्ने रहेछन्।’
खेलको क्याप्टेन रहेकी पाण्डेले पनि नेपालको प्रतिनिधित्व गरेर यसरी खेल्न वा जुन कुनै काममा जान पनि साच्चै गर्व फिल हुने रहेछ। मुलुकको सरकारी प्रतिनिधि अर्थात कूटनीतिज्ञ, ग्रिसमा नै भएका नेपाली अबैतनिक दूतनै त्यहाँ उपसिथ भइदिएको भए साँच्चै सुनमा सुगन्ध हुने थियो।
‘हामीले सरकारलाई जानकारी त गराएको तर सरकारी निकायमा हामी दर्ताको प्रक्रियामा रहेको कारण त्यस्तो उपस्थिति नभएको होला,’ उनले भनिन, ‘नेपालमा पनि यसलाई प्रतिस्पर्धात्मक बनाएर आगामी दिनमा यस्ता खेललाई नेपालमा नै आयोजना गर्ने, खेलकुद पर्यटनको कन्सेप्ट बनाउन आवश्कय छ।’
खेल जुन ९ मा सकिएको भए पनि अन्य प्रक्रियाहरु पूरा गर्न र अन्य खेलहरु पनि हेर्न र युरोपका अन्य मुलुक घुम्ने समय ठीक भएका कारण केही दिन लम्ब्याएर खेलाडीहरु बसे पनि बिहीबार सबै नेपाल फर्किसकेका छन्। सबै कामकाजी र विश्वका विभिन्न मुलुक घुमिसकेकाहरु भएकाले जाँदा घुम्ने रहर पनि पु¥याएका हुन्।
प्राचीन सभ्यता र रमणीय प्राकृतिक दृश्यसँगै यो खेलले सहभागीलाई खेल भावना साटासाट र सांस्कृतिक आदानप्रदान गर्दा सहीमा मुलुकको नाम लिने काम भएको उनीहरुले बताए। यो खेल अन्तर्राष्ट्रिय क्याच एन्ड सर्भ बल स्पोर्टस फेडरेसनको सक्रियतामा हेलेनिक अर्गनाइजेसन फर कम्पनी स्पोर्टस एन्ड हेल्थ (होक्स) ले आयोजना गरेको हो।
खेलामा महिला तथा आमा खेलाडीले आपसमा प्रतिस्पर्धा भयो भने साइड अर्थात बीचमा मिश्रित टोली पनि खेले। यसपटकको क्याच एन्ड सर्भ बल’ वर्ल्ड स्पोर्ट्समा तीन हजार ५ सयभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी सहभागी भएका थिए। लउत्राकीको नगर हलमा भएको थियो। नेपालमा यो खेललाई इजरायलका लागि पूर्वराजदूत अञ्जान शाक्यको सक्रियतामा दर्ता प्रक्रिया अघि बढेको भए पनि अझै यसले मुर्त रुप भने पाएको छैन।
लामो समयसम्म चुलोचौकामा सीमित नेपाली महिला बिस्तारै बाहिर आइरहेका छन्। यही जनचेतनाका लागि पनि यो खेल साँच्चै उपयुक्त रहेको र नेपालमा यसलाई अघि बढाउन आवश्य रहेको सहभागीहरुले जानकारी दिए।
पछिल्लो समय महिलाहरू शिक्षा, खेलकुद, राजनीति र समाजका अन्य क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन्। प्रतियोगितामा सहभागी एक महिलाले भनिन्, ‘क्याच एन्ड सर्भ बल विश्वकपमा हाम्रो सहभागिता पनि नेपालको उपस्थिति हो।’
यो खेल विश्वमा पहिलोपटक जर्मनीमा ३० वर्षअघि १९९५ तिर सुरु भएको थियो। त्यसपछि युरोपका विभिन्न देशमा लोकप्रिय भयो। अहिले युरोप, अमेरिका, एसिया र अन्य क्षेत्रहरूमा फैलिरहेको छ। नेपालले पनि विगत केही वर्षयता यस खेललाई विकास गर्दै आइरहेको छ।