
काठमाडौँ- राजधानीको व्यस्त ग्वार्को चोकमा निर्माण गरिएको पहिलो फ्लाई ओभर आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। बारम्बार म्याद थपिएर ढिलो भएको ओभरपास निर्माण अब बल्ल पूर्ण रूपमा सम्पन्न भएको हो।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको केन्द्रले २०७८ फागुनमा सम्झौता गरेर निर्माण थालेको यो परियोजना प्राविधिक जटिलता, माटो सुधार र डिजाइन परिमार्जनका कारण पटकपटक ढिलो भएको थियो। ठेकेदारलाई हर्जाना तिराएर काम सम्पन्न गरिएको छ।
५७६.२ मिटर लम्बाइ र १६.४ मिटर चौडाइको चार लेनको ओभरपास निर्माणमा सुरुको अनुमानभन्दा १४ करोड बढी खर्च भएको छ।
ट्राफिक प्रहरी र पूर्वाधार विज्ञहरूका अनुसार यो फ्लाई ओभरले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनेछ। सातदोबाटो लगायत अन्य चोकहरूमा पनि यस्ता संरचना आवश्यक रहेको उनीहरूको सुझाव छ।
प्रतिनिधिसभाको पूर्वाधार समितिले उद्घाटनपूर्व निरीक्षण गर्दै सिसी क्यामेरा र बत्ती जडान जस्ता काम चाँडै सक्न निर्देशन दिएको छ।