
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० लाई अघि बढाउने विषयमा नेपाली कांग्रेस संसदीय दल र नेपाल शिक्षक महासंघबीच विस्तृत र सकारात्मक छलफल भएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा विगतमा सरकार र शिक्षक महासंघबीच भएका सहमतिका बुँदाहरूलाई शिक्षा विधेयकमा समावेश गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अगाडि बढाउने विषयमा छलफल भएको हो।
छलफलमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, शिक्षा समितिकी सदस्य लीला बोखिमलगायत नेताहरूको उपस्थिति थियो। बैठकको संयोजन संसदीय दलका सचेतक श्यामकुमार घिमिरेले गरेका थिए।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विगतमा सरकार र महासंघबीच भएका सहमति समावेश गरी विद्यालय शिक्षा विधेयक समितिबाट अघि बढाउनेबारे बुँदागत छलफल भयो। छलफल विस्तृत र सकारात्मक भएको छ। महासंघकोतर्फबाट मैले विषयवस्तु प्रस्तुत तथा प्रष्ट गरेको थिएँ।’
नेपाल सरकार र महासंघबीच २०७५, २०७८, २०८० र पछिल्लो पटक २०८२ वैशाख १७ गते भएका विभिन्न सहमतिहरूलाई समेट्दै यही असार १५ गते प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक-२०८० पारित गराउने सहमति छ।