
काठमाडौँ- इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले इरानको परमाणु खतरा पूर्ण रूपमा अन्त्य गर्ने दोहोर्याएका छन्।
इरानले आक्रमण गरेको सोरोका अस्पतालमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने,‘यो अभियानको अन्त्यसम्म इजरायलका लागि कुनै पनि परमाणु खतरा बाँकी रहने छैन, न त ब्यालिस्टिक क्षेप्यास्त्रको डर हुनेछ।’
प्रधानमन्त्री नेतन्याहूका अनुसार इजरायली कारबाहीमा पहिले नै इरानको परमाणु कार्यक्रमलाई गम्भीर क्षति पुगेको छ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई यो कारबाहीको सम्भावित लक्ष्य हुन् भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने,‘कसैले पनि आफूलाई सुरक्षित नठाने हुन्छ।’
नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको साझेदारीको प्रशंसा गरे। उनले यो साझेदारीलाई ‘अविश्वसनीय’ भनेका छन् र अमेरिकी राष्ट्रपतिसँग उनी प्रायः दैनिक सम्पर्कमा रहेको जानकारी दिए।
नेतन्याहूले थपे, ‘म विश्वास गर्छु, उहाँको अडान, दृढता र स्पष्टता उल्लेखनीय छ।’
इरान–इजरायल संघर्षमा अमेरिका संलग्न हुने नहुने निर्णय राष्ट्रपति ट्रम्प आफैँले लिने उनले बताए। ‘यो निर्णय राष्ट्रपति आफैँले लिनु हुनेछ, तर हालसम्म पनि उहाँले उल्लेखनीय सहयोग गरिरहनु भएको छ।’