
काठमाडौँ- संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विरोध कायमै राख्दै बैठक अवरोध जारी राखेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका हुन्।
रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यद्यपि सभामुख घिमिरेले विरोधका बीच बैठकलाई पेलेरै अगाडि बढाइरहेका छन्।
संसदमा प्रतिपक्षी दलहरूको माग सम्बोधन नहुँदा बैठक सञ्चालनमै कठिनाइ देखिएको छ तर सभामुखले प्रक्रिया नरोकी बैठक अगाडि बढाउने रणनीति अपनाइरहेका छन्।