
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले विभिन्न विभागमा नयाँ मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले पार्टीभित्रको संगठन सुदृढीकरण, विवाद समाधान र आगामी कार्यक्रम तय गर्ने उद्देश्यले नौबुँदे निर्णय पारित गरेको हो।
प्रवक्ता (कार्यवाहक) मनिष झाद्वारा जारी विज्ञप्तिअनुसार पार्टीले नीति तथा विचार विभागको प्रमुखमा डा.स्वर्णिम वाग्ले र उपप्रमुखमा सन्तोष परियारलाई मनोनयन गरेको छ। कृषि विभागको प्रमुखमा चितवनका राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई जिम्मेवारी दिएको छ।
बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको ‘झुट्टा र प्रतिशोधपूर्ण’ मुद्दा र भिजिट भिसा काण्डमा संसदीय गतिविधिबारे गहन छलफल गरिएको जनाइएको छ। सो मुद्दामा पार्टी एकढिक्का भएर अघि बढ्ने तथा संसदमा अझ सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ।
पार्टीले देशभर फैलिएका वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै ढाँचामा बाँध्न ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि नेतृत्व आफैँले लिने बताइएको छ।
पार्टीको तेस्रो स्थापना दिवस यही असार ७ गते ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारासहित देशव्यापी अभियानसहित मनाइनेछ। स्थापना दिवसकै दिन बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय, चःमति वनस्थलीमा केन्द्रीय समिति बैठक पनि बस्नेछ। त्यस्तै, महाधिवेशनको तयारीस्वरूप सातै प्रदेशमा संगठन अभियान चलाउने निर्णय गरिएको छ।
यसैबीच, सांसद सुमना श्रेष्ठको नाम जोडेर आएको ‘नक्कली उजुरी’सम्बन्धी भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले त्यसलाई संसदबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीका अनुसार यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन तथापि, पार्टीमा आबद्ध व्यक्तिको संलग्नता पुष्टि गर्न प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्वएसएसपी लव बिष्ट सदस्य रहनेछन्।
बैठकले इजरायल–इरानबीचको बढ्दो तनावका बीच दुवै देशमा रहेका नेपालीहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारले तुरुन्त पहल गर्न माग गरेको छ।
स्याङ्जाको आँधी खोलामा भइरहेको अवैध दोहनविरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट रड प्रहार भएको घटनाप्रति पनि पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टीका केन्द्रीय सदस्य मेघ आले र सदस्य दिनकर नेपाल गम्भीर घाइते भएको घटनालाई पार्टीले जघन्य र दुर्भाग्यपूर्ण भन्दै दोषीलाई तुरुन्त कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
पार्टीले घाइतेहरूको उपचार र कानुनी सहयोगका लागि आवश्यक सम्पूर्ण कदमहरू चालिएको जनाएको छ।