
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार टेलिफोन भेटवार्ता भएको छ। मोदी र ट्रम्पबीच करिब ३५ मिनेट टेलिफोन वार्ता भएको हो।
जी–सेभेन शिखर सम्मेलनका क्रममा साइडलाइन वार्ता तय भए पनि राष्ट्रपति ट्रम्पको आकस्मिक अमेरिका फिर्तीका कारण स्थगित भएपछि, ट्रम्पको आग्रहमा दुवै नेताबीच टेलिफोन संवाद भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
मोदी र ट्रम्पबीच यो संवाद भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि पहिलोपटक भएको हो। पहलगाम आक्रमणपछि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोन गरेर समवेदना प्रकट गर्दै आतंकवादविरूद्धको लडाइँमा अमेरिकी समर्थन दोहोर्याएका थिए।
बुधबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री मोदीले ‘अपरेसन सिन्दूर’ बारे राष्ट्रपति ट्रम्पलाई विस्तृत जानकारी गराएको भारतका विदेश सचिव विक्रम मिसरीले जानकारी दिएका छन्।
मिसरीका अनुसार प्रधानमन्त्री मोदीले अप्रिल २२ पछिको घटनाक्रम व्याख्या गर्दै भारतको कारबाही पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका आतंकवादी शिविर र लुक्ने स्थानहरूलाई लक्षित रहेको स्पष्ट पारेका थिए। मोदीले भारतको प्रतिक्रिया सन्तुलित, सटीक र गैरउत्तेजक भएको भन्दै आक्रमणको प्रतिउत्तरस्वरूपमात्र कारबाही भएको बताएका थिए।
अमेरिकी उपराष्ट्र माइक पेन्सले मे ९ मा प्रधानमन्त्री मोदीलाई फोन गरेर पाकिस्तानतर्फबाट सम्भावित ठूलो आक्रमणको जानकारी गराएका थिए। यसको जवाफमा मे ९ र १० को रात भारतले निर्णायक कारबाही गर्दै पाकिस्तानी सैन्य संरचनालाई गम्भीर क्षति पु¥याएको मोदीले जानकारी गराएका छन्।
मोदीले भारत–अमेरिका व्यापार सम्झौता वा भारत–पाकिस्तानबीच अमेरिकी मध्यस्थतासम्बन्धी कुनै पनि छलफल नभएको उल्लेख गरेका छन्। पाकिस्तानसँगको संवाद प्रत्यक्ष रुपमा सैनिक तहमा मात्रै भएको र मध्यस्थताको भारतले स्वीकार नगर्ने ट्रम्पसमक्ष प्रस्ट पारेको विदेश सचिव मिसरीले उल्लेख गरेका छन्।
उनका अनुसार ट्रम्पले भारतको आतंकवादविरूद्धको धारणा र रणनीतिलाई समर्थन जनाएका छन्। प्रधानमन्त्री मोदीले अब आतंकवादलाई परोक्ष नभई प्रत्यक्ष युद्धको रुपमा हेर्ने र ‘अपरेसन सिन्दूर’ अझै जारी रहेको बताएका छन्।
टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई क्यानडाबाट फर्किएपछि अमेरिका आउन निमन्त्रणा दिए पनि मोदीले पूर्वनिर्धारित कार्यतालिका कारण असमर्थता जनाएको विदेश मन्त्रालयले जनाएको छ। तर, दुवै नेताले निकट भविष्यमा प्रत्यक्ष भेटको प्रयास गर्ने सहमति जनाएका छन्।
संवादका क्रममा इजरायल–इरान र युक्रेन–रुस द्वन्द्वबारे समेत गम्भीर छलफल भएको थियो। दुवै जनाले द्वन्द्व समाधानका लागि प्रत्यक्ष संवाद र कूटनीतिक प्रयासको आवश्यकतामाथि जोड दिएका छन्।
हिन्द–प्रशान्त क्षेत्रमा दुवै नेताले क्वाडको भूमिकाबारे सकारात्मक धारणा राख्दै भारतमा आगामी क्वाड शिखर सम्मेलनका लागि राष्ट्रपति ट्रम्पलाई मिमन्त्रणा दिइएको, जसलाई ट्रम्पले स्वीकार गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।