‘विधान महाधिवेशन नहुँदै पार्टी नेतृत्वबारे अनावश्यक अनुमान नगरौँ’

हिमाल प्रेस ४ असार २०८२ १७:१६
18
SHARES
‘विधान महाधिवेशन नहुँदै पार्टी नेतृत्वबारे अनावश्यक अनुमान नगरौँ’ फाइल तस्बिर।

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन्।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए।

एमालेउपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको बताए। ‘कतै पनि सग्लो पार्टी भेटिँदैन। धोएको मूला जस्तो, गंगाजल जस्तो पार्टी भेटिँदैन,’ उनले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ।’

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागि रहेको जानकारी दिए। ‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ,’ उनले भने, ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ। यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ।’

उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसंगठनलाई निर्देशन दिए।

‘विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं,’ उनले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए। उनले पार्टी निर्माणमा जनसंगठनले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए।

२०४६/४७ को जनआन्दोलन र २०६२/६३ दोस्रो जनआन्दोलनमा जनसंगठन धेरै सशक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसंगठन सुुस्ताएको बताए। ‘जनसंगठन पार्टीको नर्सरी हो। यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ,’ उनले भने, ‘त्यसैले मूलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो। तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरि पार्टीमै फर्काइ दिने गरेका छन्। यसले संगठन र पार्टीको विस्तार हुँदैन।’

जनसंगठन संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालले नवनिर्वाचित जनसंगठन केन्द्रीय कमिटीले नयाँ जोश जागरका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताए। उनका अनुसार बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष, महासचिव र निवर्तमान अध्यक्षको सहभागिता रहेको थियो।

बैठकमा जनसंगठनका इञ्चार्जहरुले आ–आफ्नो जनसंगठनका बारेमा रिर्पोटिङ गरेका थिए।

प्रकाशित: ४ असार २०८२ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast