ट्रम्पको भनाइपछि आक्रमक इरान, खामेनेईले भने – युद्ध सुरू भइसक्यो

हिमाल प्रेस ४ असार २०८२ १६:५६
44
SHARES
ट्रम्पको भनाइपछि आक्रमक इरान, खामेनेईले भने – युद्ध सुरू भइसक्यो तस्बिर : एफपी

काठमाडौँ- इजरायलले इरानको राजधानी तेहरानमाथि आक्रमणलाई थप तीब्र बनाएको छ। बुधबार बिहानदेखि इजरायलले तेहरान लक्षित आक्रमणलाई तीब्र बनाएको हो।

आफ्नो ५० लडाकु विमानले तेहरानमाथि आक्रमण गरेको इजरायलले जनाएको छ। इजरायलका तर्फबाट आक्रमणमा इरानमा हालसम्म ५८५ जनाको मृत्यु भएको छ भने १ हजार ३२६ जना घाइते भएका छन्। इरान सरकारले इजरायली आक्रमणमा परी ज्यान गुमाउनेहरूको आँकडा उपलब्ध गराउन बन्द गरेको छ। यो आँकडा अमेरिकास्थि एक मानवअधिकार संगठनले जारी गरेको हो।

यता इजरायलका अधिकारीहरूले जनाएअनुसार शुक्रबारदेखि हालसम्म इरानी आक्रमणमा परेर २४ जनाको ज्यान गएको र आठ सयभन्दा बढी मानिस घाइते भएको जनाएका छन्।

इरानको राजधानी तेहरान छोडेर ठूलो संख्यामा मानिसहरू अन्य सुरक्षित स्थानमा जान थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायलले १३ जुनमा इरानको ‘परमाणु कार्यक्रम’ सँग सम्बन्धित स्थानहरूमा आक्रमण गरेको थियो। त्यसपछि इरानले पनि जवाफी कारबाही गरेपछि दुवै मुलुकबीच विगत ६ दिनदेखि संघर्ष जारी रहेको छ।

संघर्षको छैठो दिन इरानको युरेनियम सेन्ट्रफ्युज प्रोडक्सन साइट र हतियार निर्माण गर्ने कैयौँ स्थानमा आक्रमण गरेको इजरायली सेनाले दाबी गरेको छ।
यता इरानले पनि इजरायलमाथि चार सयभन्दा बढी मिसाइल प्रहार गरेको बताइएको छ।

ट्रम्पलाई जवाफ

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इरान कुनै पनि हालतमा इजरायलसँग समझदारी नगर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिएपछि खामेनेईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ‘इरान कहिल्यै पनि इजरायलसँग सम्झौता गर्दैन।’

खामेनेईले अर्को एक पोस्टमा लेखेका छन्,‘युद्ध सुरू भइसकेको छ। हामी आतंकवादी जायनिस्ट शासनलाई कडा जवाफ दिनेछौँ। हामी जायनिस्टमाथि कुनै दया देखाउँदैनौँ।’

ट्रम्पले के भनेका थिए?

जी–७ को बैठक छोडेर स्वदेश फर्किएका अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता खामेनेई कहाँ लुकेर बसेको भन्ने आफूहरूलाई थाहा रहेको भन्दै इरानलाई विनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए।

उनले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा लेखेका थिए,‘तथाकथिन सर्वोच्च नेता कहाँ छन् भन्ने हामीलाई राम्ररी थाहा छ। उनी एक साधारण लक्ष्य हुन्, हाल उनी सुरक्षित छन्।’
आफूहरू उनलाई मार्न नचाहेको ट्रम्पले उल्लेख गरेका थिए। ‘हामी अहिले उनलाई हटाउन वा मार्न गइरहेका छैनौँ, कम्तीमा अहिले होइन। तर, आमनागरिक र अमेरिकी सेनामाथि मिसाइल प्रहार होस् भन्ने हामीले चाहेका छैनौँ। हाम्रो धैर्य अब सकिँदैछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast