शिक्षा, निजामती विधेयकहरूमा संसदीय समितिको निर्णयहरू उल्ट्याउन सत्ता-विपक्षको मिलेमतो : डा.भट्टराई

हिमाल प्रेस ४ असार २०८२ १०:२०
536
SHARES
शिक्षा, निजामती विधेयकहरूमा संसदीय समितिको निर्णयहरू उल्ट्याउन सत्ता-विपक्षको मिलेमतो : डा.भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षा र निजामती सेवासम्बन्धी विधेयकमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरूको मिलेमतोमा जनविरोधी कदम चालिएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमा विधेयकका विषयमा संसदीय समितिको निर्णयलाई मन्त्रिपरिषद्ले उल्ट्याउन खोज्नु र भिजिट भिसा प्रकरणमा सत्ता र विपक्ष दुवै पक्षको भूमिकाले लोकतन्त्रप्रति वितृष्णा बढाएको उल्लेख गरेका छन्।

भट्टराईले लेखेका छन्,‘शिक्षासम्बन्धी विधेयक, निजामती सेवासम्बन्धी विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदीय समितिले गरेका निर्णयहरू समेत मन्त्रिपरिषद्बाट उल्टाउने प्रयास गर्ने सत्ताधारी दलहरूको हर्कत र भिजिट भिसा प्रकरणमा निर्लज्ज ढंगले आत्मसमर्पण गर्ने तथा सत्ता मोलतोल र आआफ्ना अपराधको ढाकछोपमा सधैँ निर्लिप्त रहने प्रमुख प्रतिपक्षको घिनलाग्दो भूमिकाले अब नयाँ र वैकल्पिक शक्तिहरूबीच सदन र सडकमा एकीकृत संघर्षको माग गर्छ।’

उनले जनताका पक्षमा नयाँ विकल्प निर्माणको आवश्यकता दोहोर्‍याउँदै तीन प्रमुख दलहरूलाई ‘गोरूबाट दूधको आशा’ सरहको निराशा भनेका छन्। भट्टराई लेख्छन्, ‘पुराना तीन दल र तीन टाउकाहरूबाट अब पनि केही आशा गर्नु भनेको गोरूबाट दूधको आशा गर्नुजस्तै हो। वेलाबखत भावनामा बगेर उनीहरूसँग गरिएको संसर्ग नयाँ शक्तिहरू र देशजनताका लागि प्रत्युत्पादक भएको तीतो अनुभवबाट सबैले पाठ सिक्नुपर्छ।’

भट्टराईले आयरिस नाटककार जर्ज बर्नार्ड शको एक भनाइ उद्धृत गर्दै भनेका छन्, ‘सुंगुरसँग कहिल्यै नखेल। तिमी फोहर हुन्छौं अनि त्यो सुंगुरले त त्यसलाई रमाइलो ठान्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast