
बेइजिङ – चीनको राजधानी बेइजिङमा एभरेस्ट कार्निभल मनाइएको छ। सगरमाथा आरोहीलाई अभिनन्दन र केही आरोहीको अनुभव सुन्ने हेतुले आयोजित कार्यक्रममा आरोही वक्ताहरूले दुःख, कष्टका साथै साहस र आँटका कुरा मात्रै होइन मानव संसारमा हिमालयको महत्त्व र सगरमाथाको थुप्रिएका फोहोर र सफाइका लागि भइरहेको हातेमालोका कथाहरू पनि सुनाए।
‘सुन्दर हिमाललाई हामी फोहोरको पहाडमा परिणत गर्दैछौँ’ भर्खरै मात्र कञ्चनजङ्गा हिमाल आरोहण गरी फर्केका सफल सगरमाथा आरोही हू थाओले भने।
वानख फाउन्डेसन र डिप रक ग्रुपका मानार्थ अध्यक्ष तथा संस्थापक वाङ शले ८१ वर्षको उमेरमा तेस्रोपटक सगरमाथा चढ्ने प्रतिज्ञासहित सगरमाथालाई स्वच्छ बनाउने प्रण पनि गरे। उनले भने, ‘मैले सुरु गरेको ‘ग्लोबल क्यानल क्रसिङ एक्सन’ कोपमा गहिरो रूपमा प्रतिध्वनित भएको छ, ‘शून्य कार्बन उत्सर्जन, जलसंरक्षण’ को सन्देश विश्वव्यापी साथीहरूसमक्ष फैलाउँदै, सभ्यताहरू र शहरहरूलाई जोड्दै, जलवायु कार्यमा पूर्वीय ज्ञानको महत्त्वपूर्ण भूमिका छ भन्ने प्रमाणित भएको छ।
कार्यक्रममा तीन नेपाली र तीन चिनियाँ सगरमाथा आरोहीले आ–आफ्ना पृष्ठभूमि, आरोहणको कथा र जीतका कुराहरू सुनाए। तीन नेपाली आरोहीहरू यसै कार्यक्रममा लागि बेइजिङ आएका हुन्।
नेपाली आरोहीहरू मिङ्मा जि, र मिङ्मा शेर्पाले पर्वतारोहणमा चिनियाँहरूको चासो बढ्दैगएको चर्चा गर्दै आफ्नो समुदाय र पर्वतारोहणको क्षेत्रमा भइरहेका कुराहरू राखे।
एकै सिजनमा र १३ दिनभित्रमा तीनपटक सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाएकी पूर्णिमा श्रेष्ठले महिला र युवाहरूलाई प्रोत्साहित गर्दै भनिन्, ‘मैले अनुभव गरेँ कि हामी कुनै पनि असम्भव लाग्ने सपना देख्न र तिनीहरूलाई सम्भव बनाउन सक्षम छौँ। म अन्य महिला आरोही र युवाहरूलाई साहसिक यात्रामा भाग लिन आग्रह गर्दछु।’
बेइजिङस्थित नेपाली दूतावासले सगरमाथा आरोहीहरूलाई अभिनन्दन र दुई देशबीच पर्यटन प्रवर्द्धनका साथै जन–जनबीच सबल आदानप्रदानको प्रवर्द्धन तथा जलवायु पर्यटनको चपेटामा परेको संसारमा हिमालयको महत्त्व दर्शाउँदै ‘सगरमाथा दिवसः ‘नेपाल चाइना एभरेस्ट एडभेन्चर टूरिजम एण्ड कल्चरल कार्निभल २०२५’ कार्यक्रमको आयोजना गरेको हो।
सन् १९५५ अगस्त १ तारिख दौत्य सम्बन्ध स्थापना भएको नेपाल र चीनले चालु वर्ष ७० औँ वर्षगाँठ मनाउँदै छ। ७० औँ वर्षगाँठ र ७२औँ सगरमाथा दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई चिनियाँ ब्राण्ड पेलियट र सनचन माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्टसले समन्वय र सहयोग गरेको हो।
चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले सगरमाथा आरोहण गर्ने चिनियाँहरूलाई अभिनन्दन गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए। ७० जना चिनियाँ सगरमाथा आरोहीहरूका साथै तीन नेपाली सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो।
राजदूत ओलीले सगरमाथा चीन र नेपाल बीच गहिरो मित्रताको जीवित प्रतीक भएको बताए। ‘सगरमाथा हाम्रो गहिरो मित्रताको प्रतीक हो, यो एक सम्बन्ध हो जुन हरेक आरोहण र हरेक अभियानसँगै नयाँ उचाइमा पुग्छ। र, दुई देशका पर्वतारोहीहरू उनीहरूको आसक्ति, दृढता र सफलताको माध्यमबाट दुई देशका जनतालाई जोड्ने दूत हुन्’, राजदूत ओलीले भने।
हिमाल र साहसिक पर्यटनको प्रवर्द्धनका साथै पर्वतीय पर्यावरणको संरक्षणका लागि पनि एक कदम अघि बढेर प्रयास गर्नुपर्ने औँल्याए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छन सोङको भिडियो सन्देश प्रसारण गरिएको थियो। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक अर्चना केसी राणाले नेपाली पर्यटनसम्बन्धमा प्रस्तुती गरेकी थिइन्।
सन् २०२४ मा रेकर्ड ४६६ पर्मिट्स जारी गरेकोमा सबैभन्दा बढी ९६ पर्मिट्सको साथमा चीन अग्रपङ्क्तिमा रहेको पनि बताइन्।
सनचन माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस एसोसिएशन र पेलियट आउटडोर स्पोर्टस समूहका प्रतिनिधिले पनि सम्बन्धित विषयमा चर्चा गरेका थिए।
इसिमोडका महानिर्देशक पेमा ग्याम्सोले भिडियो सन्देशमार्फत् पर्वतारोहणको संरक्षण तथा सगरमाथालाई प्रदूषणमुक्त गर्न सम्बन्धित संघसंस्थाहरूलाई आग्रह गरे। यसबाहेक, नेपाल र चीनका हिमाली क्षेत्रमा कार्यरत् ८ विभिन्न संघसंस्थाहरूले हिमालयको संरक्षण, पर्वतको सरसफाइ, पर्यामैत्री आरोहणका लागि संयुक्त रूपमा चीन नेपाल वातावरण वक्तव्य जारी गरेको छ।
विभिन्न देशका राजदूत तथा कूटनीतिक कर्मचारी, चिनियाँ पदाधिकारी, चिनियाँ पर्वतारोहीका साथ चिनियाँ व्यापारी र चीनमा रहेका नेपाली गरी करिब ३०० जनाबीच आयोजित कार्यक्रममा नेपाली विद्यार्थीहरूले नेपाली गीतसङ्गीतमा नृत्य प्रस्तुत गरेका थिए।
बेइजिङस्थित एक होटलमा आयोजित कार्यक्रमस्थलमा चिनियाँ तथा नेपाली व्यापारीहरूले नेपाली हिमाली चुचुरोको नाम तल ससाना स्टलमा नेपाली कलात्मक उत्पादन वस्तुहरू राखिएको दृश्य आकर्षक देखिन्थ्यो।
नेपाल चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको यो अवसरमा दूतावासले दुई देश र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन विभिन्न कार्यक्रमको आयोजना गर्दैआएको छ।