प्रचण्डलाई लगातार ‘थ्रेट’ बनिरहेका जनार्दन

किरण पौडेल ३ असार २०८२ २१:४६
48
SHARES
प्रचण्डलाई लगातार ‘थ्रेट’ बनिरहेका जनार्दन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्मा।

काठमाडौँ– गत माघमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकबाट नेताहरूलाई एउटै कुराको अपेक्षा थियो–पार्टी महाधिवेशनको मिति। यसअघि सार्वजनिक अभिव्यक्तिदेखि कोठे बैठकसम्म अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिबाट महाधिवेशनको मिति ताक्ने आश्वासन दिएका थिए।

नेताहरूले पार्टी महाधिवेशनको अपेक्षा राख्नुका विभिन्न कारण थिए। जसमध्ये यसअघिको ८ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय पदाधिकारी र नयाँ दलसँगको पार्टी एकता मुख्य थिए। ८ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको टिमले पार्टी चल्न नसकेको आरोप लगाउँदै गएपछि असन्तुष्टि चुलिएको छरप्रष्ट थियो।

यसका अलावा पार्टीभित्र जम्बो पदाधिकारी र केन्द्रीय समिति पनि औपचारिकताका लागि मात्रै बनेका जस्ता भए। त्यसो त, २०७९ सालमा पदाधिकारी चुनेपछि प्रचण्डले नै एकवर्षभित्र महाधिवेशन गर्ने आश्वासन दिएका थिए। यता, माओवादीसँग एकताका लागि तयार तत्कालीन नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेकपालाई पनि महाधिवेशनपछि ढोका खुल्ने प्रचण्डले बताएका थिए।

दुवै पार्टी एकताका लागि तयार रहँदा पनि महाधिवेशनसम्म कुर्न भन्दै पर्खाइएको थियो। प्रचण्डले नै माओवादीले एकता महाधिवेशन गर्ने र सबैलाई समेट्ने दाबी गरेका थिए। तर, गत माघको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेन।

प्रचण्डले ६ महिना अभियान चलाउने र अर्को ६ महिनामा महाधिवेशन गर्ने निर्णय गराए। प्रचण्डको यो निर्णयपछि एक वर्षका लागि पार्टी महाधिवेशन धकेलियो। माओवादी नेताहरूका अनुसार यही असारमा अर्को केन्द्रीय समिति बैठक बस्नुपर्ने र महाधिवेशनको मिति ताक्नुपर्ने हो। तर, त्यसको सुरसार अझै चलेकै छैन।

माओवादी नेताहरूका अनुसार अब अर्को महाधिवेशन कहिले हुन्छ टुंगो पनि छैन। यसबाट एउटा शंका उत्पन्न हुन्छ, के प्रचण्ड महाधिवेशनबाट भागिरहेका छन्? अथवा प्रचण्ड किन बारम्बार महाधिवेशन बोलाउन अनकनाइरहेका छन्? नेताहरूकै अनुसार प्रचण्ड भरसक सहज तरिकाले महाधिवेशन गर्न चाहन्छन्। आफैँ अध्यक्ष तोकिने र आफू पायक पदाधिकारी र केन्द्रीय समिति बनाउने धाउन्नमा उनी छन्। तर, माओवादीभित्र यो विषय जटिल बन्दै गएको छ। यदि प्रचण्ड सर्वसम्मति भन्दै उभिएमा पार्टीभित्र विद्रोह हुन सक्नेसम्मका विषय उठेका छन्। यसका अलावा विभिन्न दृष्टान्तले पनि प्रचण्ड तत्काल महाधिवेशन चाहँदैनन् भन्ने देखाउँछ।

जनार्दनसँगको बढ्दो खटपट

गएको महाधिवेशनपछि प्रचण्डसँग उपमहासचिव जनार्दन शर्माको सुमधुर सम्बन्ध छैन। यसअघिको स्थायी समितिमा त जनार्दनले प्रचण्डविरुद्ध लिखित असन्तुष्टी नै जनाएका थिए।

विगतमा प्रचण्डले आफूलाई प्रतिशोध साँध्न पार्टीभित्र राज्य शक्तिको प्रयोग गर्न खोजेको, बालुवाटारबाटै आफूले पार्टी फुटाउन खोजेकोजस्ता जघन्य आरोप जनार्दनले खन्याए।

नेताहरूका अनुसार यो घटनापछि प्रचण्ड महाधिवेशनलाई धकेल्नतर्फ लागे। प्रतिपक्षमा खुम्चिएका बेला महाधिवेशन गर्दा असन्तुष्टि झाँगिने देखेपछि प्रचण्डले एक वर्षलाई धकेलेका थिए।

‘यतिबेला सरकारविरुद्ध लड्नुपर्ने बेला हो, पार्टी भित्रको असन्तुष्टि देखाउने बेला होइन भनेर धकेलिएको हो,’ पार्टी केन्द्रीय सदस्य रन्जीत तामाङ भन्छन्,‘पार्टीमा प्रतिस्पर्धा हुँदा सामान्य नै किन नहोस्, असन्तुष्टि देखिन्छ नै।’ यही कारण देखाउँदै प्रचण्डमा अभियानमा लागे।

ठूला दुई दल सरकारमा रहेका बेला निर्णायक प्रतिपक्षी बन्नु पर्ने बाहना बनाउँदै प्रचण्ड महाधिवेशनबाट उम्किएका थिए। नेताहरूका अनुसार प्रचण्डले प्रतिपक्षीको भूमिका भने तापनि मूलतः पार्टीभित्रको असन्तुष्टि नबढाउने चाहनाले महाधिवेशन धकेलेका थिए।

नेतृत्वको गतिविधिप्रति वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्ष पनि खासै सन्तुष्ट छैन। माओवादी स्रोतका अनुसार प्रचण्डका लागि मुख्य ‘थ्रेट’ अहिले जनार्दन नै हुन्। यसैले पनि पार्टीमा सर्वसम्मत नेतृत्व आउने आशा प्रचण्डमा छैन।

जनार्दन पछिल्ला दिनमा जसरी अघि बढेका छन्, त्यसले प्रचण्डविरुद्ध नयाँ गुट नबन्ला भन्न सकिने अवस्था छैन। पछिल्ला जनवर्गीय संस्थाका महाधिवेशनमा समेत जनार्दनले गुट फिजाइदिएका छन्। प्रचण्डविरुद्ध फिजाइएका ती गुटमा जनार्दनको उपस्थिति प्रतिस्पर्धात्मक जस्तो देखिन्छ।

कतिपय नेता त प्रचण्डले जनवर्गीय संगठनमार्फत जनार्दनको ‘मत बुझ्न’ खोजेको बताउने गरेका छन्। यसअघिको विद्यार्थी संगठनमा पनि हेडक्वार्टरनजिक भनिएका विजय सापकोटासँग जनार्दन प्यानलबाट हेमन्त राईले प्रतिस्पर्धा गरेका थिए। सापकोटाले ६८६ मत प्राप्त गर्दा राईले ६१५ मत ल्याएका थिए। त्यस्तै वाइसीएल (योङ कम्युनिस्ट लिग) मा पनि जनार्दन पक्षले टक्कर दिने तयारी गरेको थियो।

तर, प्रचण्डसमेत लागेर सर्वसम्मति भन्दै आफूनिकट पुष्प ओलीलाई अध्यक्ष घोषणा गरिएको थियो। सबै पक्षलाई चित्त बुझाउनका लागि ७५ सदस्यीय पदाधिकारी बनाइएको छ।

पार्टीमा सबैभन्दा सक्रिय मानिएका यी भातृ संस्थामा जनार्दनले शक्ति देखाएका छन्। यसका अलावा, पार्टी कमिटीमा समेत उनको प्रतिस्पर्धा चलिरहेकै छ। यसअघि पार्टीको विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको थियो।

जनार्दन शर्मा समूहबाट राजवंशी ४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत पाइन्। न्यौपानेलाई प्रचण्डको साथ थियो। अन्य क्षेत्रमा पनि जनार्दनले टक्कर दिइरहेका छन्।

यसअघि माओवादी निकट पत्रकारहरू (प्रेस सेन्टर) मा पनि जनार्दन ‘भर्सेस’ प्रचण्ड भएकोे थियो। प्रचण्ड प्यानलबाट कमल गिरीले प्रतिस्पर्धा गर्दा जनार्दनबाट दीपेन्द्र रावल मैदानमा उत्रिएका थिए। प्रचण्डसँग नारायणकाजी, वर्षमानहरू रहँदा पनि जनार्दन पक्षले एक्लै टक्कर दिएको थियो। गिरी पनि यसअघि लामो समय नारायणकाजीको प्रेस सल्लाहकार बनेका पात्र हुन्। उनै गिरीलाई आफू निकट बनाएर प्रचण्डले जनार्दन पक्षसँग भिडाएका थिए। युवा, विद्यार्थी एवं पत्रकारसम्म पनि प्रचण्डलाई ‘टक्कर’ दिन जनार्दन अघि सरेका थिए।

कहिले होला त महाधिवेशन?

माओवादी नेताहरू भन्छन्, ‘प्रचण्डले नचाहेसम्म महाधिवेशन हुँदैन।’ यो विगतको माओवादीको महाधिवेशनको परिवेश हेरेर भनिएको हो। आगामी माघमा महाधिवेशन हुने भनिए पनि यो अनुमान मात्र हो। किनकि, प्रचण्डले विभिन्न बाहना बनाएर महाधिवेशन सारिदिन सक्छन्।

नेताहरूका अनुसार प्रचण्ड जब ‘बलिया’ बन्छन्, तब मात्र महाधिवेशन गर्छन्। महाधिवेशनमा आफू शक्तिशाली बन्न र जनार्दनलाई ‘कमजोर’ बनाउन प्रचण्ड विभिन्न बाहना बनाइरहेका छन्। यसैले पनि यही समयमा महाधिवेशन हुँदैन भन्ने बुझाइ नेताहरूको छ।

अहिले प्रचण्डले माजुदा पदाधिकारीमै पनि हलचल ल्याइरहेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउनेदेखि गंगानारायण श्रेष्ठलाई सचिव बनाउने कदमसम्म प्रचण्डले चाले। पूर्वउपराष्ट्रपति भइसकेका पुनलाई पुनः सक्रिय राजनीतिमा फर्काउँदा पार्टीभित्रै आलोचना हुँदा समेत प्रचण्डले परवाह गरेनन्। उनको एकमात्र उद्देश्य छ–पार्टीभित्र शक्तिशाली बन्ने। र, यो रणनीतिले प्रचण्ड शक्तिशाली बनेको उनीनिकट नेताहरूको दाबी छ।

जनार्दन कमजोर बनाउन नै ल्याइए पुन र श्रेष्ठ?

पार्टी बैठकमा चर्को आलोचना हुँदा पनि प्रचण्डले पदाधिकारीमा नन्दबहादुर पुनलाई ल्याए। यसको अर्थ थियो–दोस्रो तहका माओवादी नेताहरूमा हलचल ल्याउनु। किनकि, पुनलाई सक्रिय राजनीतिमा नल्याउन केन्द्रीय कमिटीमै कुरा उठेको थियो। प्रचण्डले पुनलाई उपाध्यक्ष बनाइछाडे।

माओवादीका एक नेताका अनुसार पुन र जनार्दन दुवै पूर्वलडाकु हुन्। भोलिका दिनमा जनार्दनले पूर्वलडाकुमा बर्चस्व कायम गर्न चाहेमा पुन हाबी हुन सक्नेछन्।

‘पुन र शर्मा प्रतिस्पर्धी त होइनन्। तर एउटै कमिटीमा दुवै नेता हुँदा असर पर्ने त भइहाल्छ नि,’ माओवादी नेता केशव रावल बताउँछन्। रावल जनार्दनसँग पुनको कुनै पदमा पनि प्रतिस्पर्धा हुने संकेत देख्दैनन्। यता श्रेष्ठलाई माओवादीमा प्रचण्डले भित्र्याउनुलाई पनि नयाँ रणनीतिका रूपमा हेरिएको छ।

‘यसअघि नै श्रेष्ठ निकटलाई आफ्नो पक्षमा वकालत गर्ने सर्तमा ल्याइएको छ। भोलिका दिनमा प्रचण्डविरुद्ध यताउता नहुन अनुरोध गरिएको रहेछ,’ शर्मा निकट एक नेता बताउँछन्। श्रेष्ठ माओवादी छोड्दा पोलिट्ब्युरो सदस्य थिए। तर माओवादीमा फर्किँदा सचिव बनेका छन्।

उनीभन्दा सिनियर नेता माओवादीमा रहँदारहँदै उनलाई सचिव बनाएकोमा पनि असन्तुष्टि चुलिएको छ। यसका अलावा, नेसपाको महिन्द्रराय यादव समूह पनि माओवादीसँग एकता गर्ने पक्षमा छ। बाबुराम भट्टराईसँग विभाजित हुँदा महिन्द्र–गंगानारायण दुवैले माओवादीसँग एकता गर्ने सहमति गरेका थिए। अहिले महिन्द्र पार्टीको नाममा माओवादी राख्न नहुने भन्दै एकता प्रक्रियामा सामेल छैनन्। त्यो समूहबाट आएका अन्य १४ जनालाई केन्द्रीय सदस्य, २ जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ।

यसरी यो समूह हाबी गराउनुको अर्थ पनि जनार्दन पक्षलाई कमजोर बनाउनु हो भन्ने बुझाइ माओवादीभित्र छ। ती समूहका नेताका अनुसार प्रचण्ड अझै उथलपुथल बढाउनतर्फ लाग्नेछन्।

‘विद्यार्थीमा चुनाव हुन दिइयो तर वाईसीएलमा दिइएन। किन भने त्यहाँ हार्ने भय थियो। वा मत उपस्थिति कम हुने बुझाइ थियो,’ ती नेता भन्छन्,‘अब पार्टीमा पनि यस्ता रणनीति चाल्न सकिन्छ। जुन यसअघि नै सुरु भइसकेको छ।’

जनार्दनलाई यसअघि नै संगठन विभागको प्रमुख बनाइए पनि हालसम्म बैठक बस्न सकेको छैन।

के गलार्न जनार्दन?

पछिल्लो ताका जनार्दन पार्टी कार्यक्रममै व्यस्त देखिन्छन्। कार्यकर्ता भेटघाटलाई बाक्लो बनाइरहेका उनी आगामी दिनमा निर्णायक खेमा बनाउने तयारीमा रहेको नेताहरूको भनाइ छ।

मुख्यतः उनी यसअघि पार्टी महासचिव नपाएकोमा असन्तुष्ट बनेका हुन्। अबको महाधिवेशनमा जनार्दनले महासचिवमा लड्छन् वा अध्यक्ष नै ताक्छन्, खुलेको छैन। यद्यपि, यही तुस रहेमा जनार्दन–प्रचण्ड टकराव बढ्ने संकेत निश्चितप्रायः छ। यसैलाई बढावा दिइरहेका छन्, जनार्दन।

उनीहरू अहिले पनि जिल्ला केन्द्रित कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन्। देशभर समीकरण बनाउने रणनीतिमा जनार्दन रहेको नेताहरू सुनाउँछन्। ‘हामी कोही व्यक्तिलाई भन्दा पनि पार्टी बलियो बनाउने पक्षमा उभिएका हौँ। युवा जमात अँट्ने पार्टी चाहिन्छ भन्ने हाम्रो बुझाइ हो,’ पार्टी केन्द्रीय सदस्य एवं सो समूहका नेता अनिल शर्मा बताउँछन्।

यता प्रचण्ड भने पार्टी नेतृत्व अझै छाड्ने पक्षमा देखिँदैनन्। उनी यसपछि लामो समय पार्टीको नेतृत्व गर्ने तयारीमा रहेको संकेत देखिन्छ।

प्रकाशित: ३ असार २०८२ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast