संसद् बैठक आधा घण्टाका लागि स्थगित

हिमाल प्रेस ३ असार २०८२ १४:५६
20
SHARES
संसद् बैठक आधा घण्टाका लागि स्थगित तस्बिर : रासस

काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधपछि आधा घण्टाका लागि स्थगित भएको छ।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए।

‘भिजिट भिसा’ का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन्।

प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन्।

त्यसलगत्तै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ‘वेल’ घेराउ गर्न पुगे।
घिमिरेले सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाए।

‘सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ,’ उनले भने।

रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast