सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई ‘सामाजिक हिंसा’

हिमाल प्रेस ३ असार २०८२ १३:५५
494
SHARES
सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई ‘सामाजिक हिंसा’ एक सामुदायिक विद्यालयको बालकक्षा । प्रतिनिधिमूलक तस्बिर।

म्याग्दी- बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको संख्या बराबर छ। दुई जना दरबन्दीका शिक्षक, एक बालविकास सहयोगी र एक कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी संख्या चार छ। कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन्।

बालकक्षामा दुई, कक्षा १ र ३ मा एक एक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताइन्। उनका अनुसार गत शैक्षिकसत्रको सुरुमा २२ जना विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन्।

‘कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन्। विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि संख्या घट्दै गएको हो’, नेपालीले बताइन्।

नेपालीको भनाइमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका थियौँ। बालबालिकाको सिकाइ उपलब्धिमूलक बनाउन बालकक्षापछि नर्सरी सञ्चालन गरेका थियौँ। समुदायको साथ नपाउँदा विद्यार्थी संख्या घटेको हो।

२०८० सम्म कक्षा ७ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी संख्या ५१ थियो। कक्षा ८ सञ्चालन गर्ने, गणित र विज्ञान विषयको शिक्षक माग गर्दै आएका अभिभावक र बेनी नगरपालिकाका जनप्रतिनिधि सहमति हुन नसकेपछि अभिभावकले विद्यालय परिवर्तन गराएका हंशबाहिनीका शिक्षकले गुनासो गरेका छन्।

गत वर्ष विद्यार्थी संख्या कम भएकाले उक्त विद्यालयलाई कक्षा ८ बाट कक्षा ३ सम्मको पठनपाठन गर्न पाउनेगरी बेनी नगरपालिकाले निर्णय गरेको थियो। तीन जना शिक्षकको दरबन्दी अन्यत्र व्यवस्थापन गरिएको प्रधानाध्यापक नेपालीले बताइन्।

विद्यालयको सेवा क्षेत्रमा पर्ने ठूलो र सानो खबरामा १५० घरपरिवारको बसोबास छ। सदरमुकाम बेनी बजार नजिकैको उक्त बस्तीबाट बेनीका दुई निजी विद्यालयमा दुई बस विद्यार्थी आउने शिक्षक हृदयकुमार श्रेष्ठले बताए। उनका अनुसार केही अभिभावकले बेनी सामुदायिक र प्रकाश माविमा पढाउन थालेका छन्।

‘हंशबाहिनीमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि कतिपय अभिभावकले इच्छा नभए पनि बेनी पठाएको पाएका छौँ’, शिक्षक श्रेष्ठले भने, ‘रित्ता कक्षाकोठा रुघेर बस्नुपरेको छ।’ सुविधायुक्त खेलमैदान र कक्षाकोठा खाली रहेका उनको भनाइ छ। रासस

प्रकाशित: ३ असार २०८२ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast