
बाँके- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताएका छन्।
नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ बाँके क्षेत्र नं २ ले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाए।
‘पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरूलाई अराजकता गर्ने छुट छैन,’ उनले भने, ‘लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन।’
नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ मा सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ। कार्यसमितिको उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सह सचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहेका छन्।