शिक्षामा बजेट : पढ्दै कमाउँदै कार्यक्रम विस्तार गर्दै युवालाई सीपयुक्त बनाउने योजना

हिमाल प्रेस २ असार २०८२ १५:१८
28
SHARES
शिक्षामा बजेट : पढ्दै कमाउँदै कार्यक्रम विस्तार गर्दै युवालाई सीपयुक्त बनाउने योजना

काठमाडौँ- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्यालय र शिक्षा क्षेत्रमा संरचनागत सुधारदेखि सामाजिक समावेशीतासम्मलाई उच्च प्राथमिकतामा राखेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा हिमाली र पहाडी क्षेत्रका विद्यालयहरूलाई लक्षित गरी शिक्षाको पहुँच, गुणस्तर र समावेशीताको सुदृढीकरणतर्फ केन्द्रित योजना सार्वजनिक गरिएका छन्।

हिमाली-पहाडी विद्यालय सुदृढीकरण

हिमाली र पहाडी भेगका विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्दै आवासीय विद्यालय निर्माण गर्न आवश्यक बजेट छुट्याइएको छ। निजामती आवासीय विद्यालय धनकुटालाई नमुना विद्यालयका रूपमा विकास गर्नका लागि छुट्टै व्यवस्था गरिएको छ।

एकीकृत विद्यालय व्यवस्थापन र शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिँदै बालमैत्री, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिएको छ। गाभिएका विद्यालयहरूलाई प्रोत्साहन गर्न छुट्टै कार्यक्रम सञ्चालन गरिने मगरले बताए।

स्वयंसेवक विज्ञान शिक्षक कार्यक्रम निरन्तर

हिमाली तथा पहाडी क्षेत्रमा दरबन्दी नभएका विद्यालयमा विगतदेखि सञ्चालनमा रहेको स्वयंसेवक विज्ञान शिक्षक कार्यक्रमलाई निरन्तरता दिइएको छ। साथै शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि शिक्षा तालिम केन्द्र सुदृढ गर्दै नयाँ तालिम कार्यक्रम ल्याइने भएको छ।

प्राविधिक शिक्षा र रोजगारमूलक कार्यक्रम विस्तार

प्रदेश सरकारले ‘पढ्दै-कमाउँदै’ कार्यक्रमसहित युवा लक्षित प्राविधिक तथा व्यवसायिक तालिम सञ्चालन गर्न बजेट छुट्याएको छ। साथै मनमोहन प्राविधिक विश्वविद्यालयको संरचना र व्यवस्थापन सुधार गर्न १४ करोड विनियोजन गरिएको छ। चिकित्सा विज्ञानलगायत विषयमा अध्ययन–अध्यापन तथा अनुसन्धानमा जोड दिइने भएको छ।

समावेशी छात्रवृत्ति र विशेष बालबालिकाका लागि व्यवस्था

विपन्न, दलित, अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ। अपाङ्गता भएका बालबालिका अध्ययनरत विद्यालयको सञ्चालन र स्रोत कक्षामा कार्यरत आयाका लागि मासिक दुई हजार रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराइनेछ। दमकस्थित सरस्वती माध्यमिक विद्यालयलाई अटिजम अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ।

‘सक्षम छोरी’ र बालविवाहमुक्त अभियान

मुसहर समुदायका छोरीको शिक्षामा पहुँच विस्तार गर्दै उनीहरूको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि “सक्षम छोरी कार्यक्रम” सञ्चालन गर्न १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै किशोरी सशक्तीकरणमार्फत बालविवाहमुक्त प्रदेश निर्माण गर्न स्थानीय तहसँग सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

खेलकुद र विज्ञान प्रवर्द्धनतर्फ पनि ध्यान

कोशी प्रदेश खेलकुद ग्राम निर्माण, दशौं राष्ट्रिय खेलकुद र कोशी प्रदेश दोस्रो खेलकुद महोत्सवका लागि पर्याप्त बजेट छुट्याइएको छ। साथै युवालाई सूचना प्रविधि र उद्यमशीलतातर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। विज्ञान प्रविधिको विकास र साइन्स सेन्टर स्थापनाका लागि अध्ययन थालिने छ।

शिक्षासहित खेलकुद, संस्कृति, रोजगार र समावेशिताको लागि २ अर्ब ५ करोड ५५ लाख बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री मगरले बताए।

प्रकाशित: २ असार २०८२ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast