निजी विद्यालयको विषयले शिक्षा समितिमा विवाद, टेबुल ठोक्दै सुमनाले भनिन्- ह्वीप लगाएर विधेयक पास गर्न पाइँदैन

हिमाल प्रेस २ असार २०८२ १२:२३
2.1k
SHARES
निजी विद्यालयको विषयले शिक्षा समितिमा विवाद, टेबुल ठोक्दै सुमनाले भनिन्- ह्वीप लगाएर विधेयक पास गर्न पाइँदैन

काठमाडौँ- नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच गत १७ वैशाखमा भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक-२०८० यही असार १५ गते प्रतिनिधिसभाबाट पारित गर्ने भनिए पनि विधेयकका कतिपय विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहमति जुट्न सकेको छैन।

प्रारम्भिक बाल विकास (ईसीडी) र निजी विद्यालयको विषय जटिल बनेको छ। १९ दिनपछि शनिबार (३१ जेठ) बसेको समिति बैठकमा निजी विद्यालयको विषयमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा समिति सदस्य सुमना श्रेष्ठ कड्किन।

बैठकमा समिति सभापति अम्मरबहादुर थापा र शिक्षामन्त्री रघुजी पन्तअगाडि टेबुल ठोक्दै आफ्ना विषय राखेकी सुमनाले सरकारलाई निजी विद्यालयबाट धेरै पेलान भएको भन्दै प्रश्न गरिन्। ‘निजी विद्यालयको बारेमा धेरै छलफल गर्यौं। सरकारलाई निजीबाट धेरै पेलान भएको मलाई महसुस भएको छ। आउनुपर्ने छ, प्याब्सन र एनप्याब्सन, आउँछ हिसानको अध्यक्ष। होइन त?’, उनको प्रश्न थियो।

संविधानमा निःशुल्क शिक्षाको व्यवस्था भए पनि त्यो हुन नसकेको भन्दै यदि निःशुल्क शिक्षा दिन नसक्ने भए संविधान परिवर्तन गर्नुपर्ने सुमनाको तर्क छ। समिति बैठकमा यसबारेको छलफल बाङ्गोटिङ्गो बनाइएको उनको भनाइ छ।

‘कि संविधान नै परिवर्तन गरौं, संविधानमा निःशुल्क शिक्षा किन लेख्नुभयो? कल्याणकारी रूपमा जाने हो भने एउटा समयसीमा राखेर छलफल बन्द गर्नुपर्‍यो। यो विषयमा छलफल चल्दा बहस बाङ्गोटिङ्गो गराउन पाइँदैन। क्युबाले राष्ट्रियकरण गरेजस्तो हामीले राष्ट्रियकरण गर्ने भनेका होइनौं। हामीले निजीलाई मुनाफारहित बनाउने भनेका हौं,’ बैठकमा सुमनाले भनिन्,‘मुनाफारहित कम्पनी दर्ता हुन्छ। त्यसैले त कम्पनी दर्ता गर्दा मुनाफा दिने हो कि मुनाफा वितरण नगर्ने भन्ने अवधारणा छ।’

निजी विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूलाई न्यून पारिश्रमिकमा काम लगाएको विषय समितिमा नआएकोप्रति उनले आक्रोश पोखिन्। समितिले विधेयकमा ल्याउनुपर्ने विषयहरू नल्याएको उनले बताइन्। उनले भनिन्, ‘निजी विद्यालयमा शिक्षकहरूलाई न्यून पारिश्रमिकमा काम गराइएको छ। त्यसकोबारेमा पनि समितिमा कुरा आएन। अनि वर्कआउटचाहिँ केमा गरेर बस्नुभएको छ?’

सरकार र महासंघबीच असार १५ गते प्रतिनिधिसभामा विधेयक पुर्‍याउने सहमतितर्फ लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतासमेत रहेकी सुमनाले पेलेर, ह्वीप लगाएर समितिबाट विधेयक पास गरिदिने भन्दै समिति सभापति थापालाई प्रश्न गरिन्। उनको प्रश्न छ,‘यो पेल्ने, पेल्ने, पेल्ने! १३ गते, १४ गते, १५ गते हुन्छ। ह्वीप लगाएर पास गरिदिने। त्यतिबेलाचाहिँ एउटा गजबको भाषणा दिने, होइन? त्यस्तो तालले पाइँदैन सभापतिज्यू।त्यसैले हामीले भनेको कुरामा वर्कआउट भएर आउनुपर्‍यो।’

प्रकाशित: २ असार २०८२ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast