
काठमाडौँ- देशभरका बीएस्सी सिएसआईटी अध्ययनरत विद्यार्थीहरूको साझा संस्था कम्प्युटर विज्ञान विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.शंकरप्रसाद खनालसमक्ष सिएसआईटी कार्यक्रमभित्र देखा परेका संरचनात्मक बेथितिविरुद्ध ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा सिएसआईटी कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसहरूले सम्बन्धन लिँदाका प्रमुख सर्तहरू उल्लंघन गर्दै संयोजक पदमा आवश्यक योग्यता नपुगेका व्यक्तिहरूलाई नियुक्त गर्ने गरेको आरोप लगाइएको छ।
खुला आह्वानको क्रममा उपप्राध्यापक पदमा कम्प्युटर विज्ञानतर्फ एमएस्सी सिएसआईटी तथा सूचना प्रविधितर्फ एमएस्सी सिएसआईटी र एमआईटी निर्धारण गर्नुपर्ने बताइएकाे छ।
यसले शैक्षिक गुणस्तरमा गिरावट ल्याउनुका साथै एमएस्सी सिएसआईटी स्नातकहरूको रोजगार अवसर खुम्चिनु र सम्पूर्ण सिएसआईटी कार्यक्रमको विश्वसनीयता संकटमा पारिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
संगठनले डीन कार्यालयलाई कार्यविधिको पालना गर्दै संयोजक पदमा एमएस्सी सिएसआईटी वा पूर्णकालीक शिक्षकहरूलाई मात्र नियुक्त गर्न आग्रह गरेको छ। साथै, खुला आह्वानका क्रममा संयोजकका लागि न्यूनतम योग्यता एमएस्सी सिएसआईटी निर्धारण गर्नुपर्ने, योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिने स्पष्ट नीति ल्याउनुपर्ने र कार्यविधि नमान्ने कलेज तथा क्याम्पसहरूमा तत्काल नियमन प्रक्रिया सुरु गर्नुपर्ने माग राखिएको छ।
संगठनका प्रतिनिधिहरूका अनुसार विद्यार्थीहरूको भविष्य र कार्यक्रमको दीर्घकालीन गुणस्तर सुनिश्चित गर्न तत्काल कदम चालिनु अपरिहार्य छ। सिएसआईटी कार्यक्रमको विश्वसनीयता जोगाउन अब ढिला गर्नु विकल्प नरहेको संगठनको भनाइ छ।