
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट महँगिएर आएपछि निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको हो।
नयाँ मूल्य आइतबार मध्यरातिबाट लागू हुने निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटरमा एक र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि भएको हो।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र बीरगन्जमा पेट्रोल प्रतिलिटर १५७.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४२.५० रुपैयाँ कायम भएको छ।
त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४४ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ।