विद्युत् बिक्रीबाट मासिक २५ करोड आम्दानी : ऊर्जामन्त्री खड्का

हिमाल प्रेस १ असार २०८२ १८:२४
10
SHARES
विद्युत् बिक्रीबाट मासिक २५ करोड आम्दानी : ऊर्जामन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन्।

ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरी मासिक २५ करोड भन्दा बढी आम्दानी गरी पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन्।

दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत् व्यावसायिकरूपमा बिक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाइ छ।

ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री खड्काले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिकरूपमा समृद्धि हासिल गरिने बताए। उनले बजेटमा भूलबस टेक एन्ड पे शब्द आएको भन्दै त्यसलाई हटाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश विद्युत् निर्यात गरेको थियो। बंगलादेशमा निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म बिक्री गरिनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने मन्त्री खड्काले बताए।

उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेशनसम्म पुग्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ असार २०८२ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast