इजरायल–इरान तनाव : कहाँ कति क्षति?

हिमाल प्रेस १ असार २०८२ १५:११
44
SHARES
इजरायल–इरान तनाव : कहाँ कति क्षति? इजरायल–इरान तनाव

काठमाडौँ– इजरायल र इरानबीच तनाव बढ्दै गएको छ। शुक्रबार राति इजरायलले इरानको परमाणु केन्द्रमा आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाहीमा मिसाइल प्रहार गरेपछि दुवै मुलुकबीच तनाव बढेको हो।

यो घटनापश्चात दुवै मुलुकले एकअर्कामाथि कैयौँ हवाई आक्रमण गरेका छन्। शनिबार राति पनि इजरायल र इरानले एकअर्कामाथि आक्रमण गरेका थिए।

इजरायलले आफ्नो कैयौँ तेल भण्डारणमा आक्रमण गरेको र स्थिति नियन्त्रणमा रहेको इरानले जनाएको छ।

इरानले तेल अवीवनजिक केही भवनलाई लक्षित गरेर गरेको आक्रमणमा चार जनाको मृत्यु भएको इजरायलले बताएको छ।

इजरायलले शुक्रबार रातिदेखि गरेको आक्रमणमा इरानको परमाणु केन्द्रलाई लक्ष्य बनाइएको जनाएको छ। यी आक्रमणहरूमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का प्रमुखसमेत तीन शीर्ष सैन्य अधिकारीको मृत्यु भएको इजरायलले दाबी गरेको छ।

इरानमाथि अहिले पनि आक्रमण जारी रहेको इजरायलले बताएको छ। इरानको तेल मन्त्रालयले शाहरानस्थित तेल डिपो र तेहरानमा एउटा तेल ट्यांकलाई लक्षित गरेर इजरायलले आक्रमण गरेको उल्लेख गरेको छ।

यस्तै इजरायलले दक्षिण बुशेहरमा ठूलो ग्यासको कुँवालाई लक्षित गरेर आक्रमण गरेको मन्त्रालयले जनाएको छ।

इरानी सञ्चारमाध्यम र इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएअनुसार इजरायलले तेहरानमा रक्षा मन्त्रालयमाथि पनि आक्रमण गरेको छ। यो आक्रमणमा भवनमा क्षति पुगेको बताइएको छ। साथै मन्त्रालयले अर्गेनाइजेसन अफ डिफेन्सिभ एण्ड रिसर्र्चमाथि पनि आक्रमण भएको जनाएको छ।

इरानको परमाणु हतियार परियोजनासँग सम्बन्ध रहेकाले यी स्थानहरूमा आक्रमण गरिएको आईडीएफले दाबी गरेको छ। क्रुज मिसाइल राखिएको स्थानमा पनि आक्रमण गरिएको आईडीएफले जनाएको छ।

इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा पनि हवाई आक्रमण गरेको छ। इस्फहानको ‘कन्वर्जन प्लान्ट’ इरानको परमाणु ढाँचाको महत्पूर्ण हिस्सा रहेको छ। यसबाहेक इरानको अन्य सहरस्थित युरेनियम भण्डार र अन्य प्लान्ट पनि यो ढाँचाको हिस्सा रहेको बताइएको छ। इस्फाहननजिक एक एयरबेस र मिसाइल निर्माण गर्ने कारखानासमेत रहेका छन्।

अप्रिल २०२४ मा इजयारलले यो क्षेत्रस्थित एक एयरफिल्डमाथि आक्रमण गरेर एयर डिफेन्स सिस्टमलाई क्षति पुर्‍याएको थियो।

इस्फाहनमा रहेका सबै सुविधाहरू शान्तिपूर्ण कामका लागि मात्रै रहेको इरानले दाबी गरेको छ। तर, इजरायल र कतिपय पश्चिमा मुलुकहरूले इरानले परमाणु हतियार निर्माण गर्न यी सुविधाहरूको प्रयोग गरिरहेको आशंक गरेका छन्।

इजरायलको ‘इमरजेन्सी सर्भिस मेगन डेविड अडोम (एमडीए)’ ले तेल अविवको दक्षिणमा रहेका बाट यम सहरमा एक भवनमाथि इरानले गरेको आक्रमणमा परी चार जनाको ज्यान गएको बताएको ।

मृतकहरूमा ६९ वर्षीया महिला, ८० वर्षीया महिला, १० वर्षका एक बच्चा र एक युवती छन्।

इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित आधारभूत ढाँचामाथि आक्रमण गरेको इजरायलले दाबी गरेको छ। (बीबीसीको सहयोगमा)

प्रकाशित: १ असार २०८२ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast