
काठमाडौँ- आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको छ।
दक्षिण अफ्रिकाका लागि एडन मारक्रमले सर्वाधिक १३६ रन बनाए। त्यस्तै कप्तान टेम्बा बमुमाले अर्धशतकीय इनिङ खेल्दै ६६ रनको योगदान दिए।
अस्ट्रेलियाका लागि दक्षिण अफ्रिकाको दोस्रो इनिङमा मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए।
फाइनल खेलमा टस जितेर दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय गर्दै अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो।
पहिलो इनिङमा अस्ट्रेलिया २१२ रन बनाएर अलआउट भयो। जवाफमा दक्षिण अफ्रिका सबै विकेट गुमाएर १३८ रनमात्रै बनाउनसक्यो।
दोस्रो इनिङमा दक्षिण अफ्रिकाका बलरहरूले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई २०७ रनमा सीमित गर्यो। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ५८ रन बनाए। दक्षिण अफ्रिकाका कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए।
अस्ट्रेलियाले दक्षिण अफ्रिकासामु जितका लागि २८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। र, यो लक्ष्यलाई दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर पूरा गर्यो।
यसअघि अस्ट्रेलियाले २०२३ र न्यूजिल्यान्डले २०२१ मा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप जितेको छ। दुवैपटक भारतले फाइनलमा हारको सामना गर्नुपरेको थियो।