
काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिकामा माइक्रोबस दुर्घटना भएको छ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको माइक्रो बस चन्द्रागिरी नगरपालिका–२ नागढुंगा नजिकै रहेको घुमाउने पसअगाडि शनिबार दिउँसो पौने चार बजेतर्फ दुर्घटना भएको हो।
गति अनियन्त्रित भएर बस सडकबाट करिब ८० मिटर तल खसेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका सबै यात्रुलाई नेपाल एपीएफ अस्पताल बलम्बु पठाइएको उनले बताए। थापाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
डीएसपी थापाले दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ जना पुरुष घाइते भएको जानकारी दिएका छन्। बसमा चालक तथा सहचालकसहित २० जना सवार रहेका थिए।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१८ निलबराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।