याम्बुलेहरूको पदयात्रामा भेटिएकी आइतीमाया

राजाराम बर्तौला ३१ जेठ २०८२ २०:१६
56
SHARES
याम्बुलेहरूको पदयात्रामा भेटिएकी आइतीमाया

यो आलेख नियात्रा होइन, न त यात्रा वृत्तान्त। यो आलेख एकजना ग्रामीण महिलाको स्वभावजन्य प्रतिकृयाको मनोभावपूर्ण आत्मालाप हो। ककनीको शिरदेखि फेदीसम्म पुगेर उकालो लाग्दै गर्दा बाटोमा भेटिएकी एउटी तामाङ महिलाले देखाएको निश्चल, कञ्चन मनको उद्गार, सदाचार र सद्भावको अभिव्यक्ति हो।

घाँसको भारी फ्यात्त पिँढीमा बिसाएर आइतीमायाले सुईईय … सुस्केरा हालिन्। कम्मरमा बाँधेको मजेत्रो झिकेर निधारको पसिना पुछिन्। सास फुलेको थियो, एकछिन सुस्ताइन्। गोठमा बाँधेका बाख्राहरु म्या..म्या कराए। आइतीको घाँसले बाख्राको मुखमा पानी आएको हुनुपर्छ। घिच्रो तानेर नै कराए। ‘नकरा तेरा बान’ भन्दै आइती घरभित्र पसिन्। एक अम्खरा पानी तन्तन् पिएर बाहिर निस्किन्। ‘ला खा तेरा आ’रा’ भन्दै आइतीले एकएक मुठा घाँस बाख्रालाई राखिदिइन्।

आइतीको घर भिरालो डाँडाको बीचमा छ, न तल त माथि। घर माथि गयो भने जंगल छ, घर तल कान्ला र ससाना गहरा बनाएर खेती गरिएको तरेली परेको मनोरम ढुंगेन बारी छ। अलिअलि खेत पनि छ। पानी लाग्ने जतिमा धानखेती पनि हुन्छ। घरको करेसाबारीमा विभिन्न थरीका फलफूलका बोट लगाइएका छन्। अहिलेको सिजन आलुबखडा भएकाले हाँगा लच्केर नै फलेका छन्। जस्ताले छाएको आइतीको घरको छानामा भने लहरे आँप फलिरहेका छन्।

आलुबखडा मात्र हैन आरु पनि फलेका छन्। बेलाबेलामा जंगलबाट आउने बाँदर र बँदेलले बाली नाश गरिदिँदा पनि उनको केही दिक्दारी छ। उनी आफ्नो घर देखेर निकै आनन्दित छिन्। गाउँपालिकाले डाँडाको खोँचबाट पाइपमा खानेपानी वितरण गरेको हुँदा डोकोमा मानी बोक्न नपरेको धेरै भइसकेको छ। थाप्लोबाट डोकोको नाम्लो छुटेको चाहिँ थिएन।

बाख्रालाई घाँस दिएपछि आँगनको डिलमा आएर बारीको कान्लातिर हेरिन्। सामान्यतया उनको घरमा आउने पाहुनाहरु माथि ककनीबाट झर्ने हुन्। तल खेतबारीबाट उकालो लाग्नेहरु साँझबिहान खेतमा काम गर्न जानेहरु मात्र हुने हुन्। यति धेरै मानिसको लर्को तलतिर फुङफुङेबाट उकालो चढेर आउलान् भन्ने उसले सोचेकी थिइनन्। जन्ती नै आएजसरी लर्को लागेर मानिसहरु माथितिर आउँदै थिए। रमाइलो मानेर उनले ती मानिसहरु नियालिन्। फुङफुङे झरना हेर्न भनेर मानिसहरु आउँछन् भन्ने उनलाई थाहा थियो। तर ती मानिस त्यतैबाट सडकैसडक जान्थे। यसरी खेतका आलीआली हिँडेर डाँडो उक्लेको उनले देखेकी थिइनन्।

ती यात्रीहरु जति नजिक आउँदै गरेका देखिन्थे उनी त्यत्तिकै उत्सुक भएर हेरिरहेकी थिइन्। उनैको घरतिर आइरहेका ती यात्रुहरु देखेर कौतूहल भएकी थिइन्। उनले जीवनमा धेरै उकालोओरालो गरिन् तर लौरो टेकेर हिँडेकी थिइनन्। गाईबस्तु चराउन गोठालो जाँदा भने हातमा लौरो लिएर हिँडेकी थिइन्। आज उनले देखेकी यी सबै मानिस हातमा रंगीन लौरो लिएर हिँडिरहेका छन्। सबैले ढाडमा झोला पनि बोकेका छन्। उनले बोक्ने गरेको झोला, डोका, बोराभन्दा फरक छ। जतिजति नजिक आउँदै गरे तिनीहरुको अनुहार चिनिँदै गयो। सबै उमेर र लिंगका मानिस देखेर उनी झनै खुसी भइन्।

झन्डै एक घन्टाको हिँडाइपछि ती यात्रुहरु उनको आँगनमा आइपुगेका थिए।

‘आबुई…! को भनेको त याम्बुलेहरु पो रैछ’, उनको मुखबाट अनायासै फुस्कियो।

थाकेर आएका यात्रुहरु आँगन र पिँढीमा जताततै बसे।

‘हैन, हिँड्न नसक्नेहरुले पनि किन रहर गरेर हिँड्नुपरेको?’ आईतीको जिज्ञासा रह्यो।

‘के जाती यो लौरो टेकेर पनि यति जाबो उकालो चढ्न तिमीहरुलाई ठ्याक्कै एक घन्टा लाग्यो। यति बेलामा त हामी दुईतीन चोटि पो तलमाथि गर्छ,’ उनले निसंकोच भनिन्।

‘उः, बोटमा आल्बखडा छ टिपेर खाऊ। जति खाए पनि हुन्छ, सकेजति खाऊ’ आइतीले भनिन्।

कति उदार छ गाउँ! कति सफा मन! आँगनमा फलेको फल बाटो हिँड्ने अपरिचित यात्रुले खाएर तृप्त होऊन् भन्ने उनको चाहना। यात्रीहरूले खाइदिए उनको देउता खुसी हुन्छ। देउता खुसी भए उनको जन्म सफल हुन्छ। परत्रको सुखको चाहनामा गाउँ आफूलाई लुटाउँछ। सहर वरत्रकै लाभमा गाउँलेको पसिना लुट्छ। सहर खोसेर पनि चम्किन्छ नियोन लाइटहरूमा। गाउँ टुकीको धिपधिपेमा उज्यालिन्छ। अचेलका गाउँमा बिजुली पुगेर पनि सहर बन्न सकेको छैन। त्यसैले मानिसको मन फुङफुङे झरनाको पानी जस्तै सङ्लो छ।

हामीले केही दाना आलुबखडा खायौँ। अर्थात् भनौँ आइतीको मन राख्यौँ। किन्न खोजेको। ‘पर्दैन, टिपेर लैजा भनिन्।’

छानामा लहरे आँप थियो। हामीलाई त यसको नाम पनि थाहा थिएन। उनैले ‘यो लहरे आँप हो। चाखेर हेर, मन परे खाओ,’ भनिन्। हामीले केही दाना चाखेर हेर्‍यौँ।
केहीबेर थकाइ मारेर हामी फेरि उकालो लाग्यौँ। आइती हामीलाई बाटो देखाउन केही माथिसम्म आइन्। उनी हामीलाई ‘राम्रोसँग जानु है’ भनेर फिर्ता भइन्। हामी याम्बुलेहरु बस चढेर घर फर्कियौँ।

प्रकाशित: ३१ जेठ २०८२ २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast