
काठमाडौँ- इजरायलले इरानमाथि लगातार हवाई आक्रमण जारी राखेको छ। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरेर इरानमाथि लगातार हवाई आक्रमण जारी रहेको बताएको हो।
इरानमा रहेको खतरा अन्त्य गर्न इजरायली वायु सेनाले लगातार आक्रमण गरिरहेको आईडीएफले जनाएको छ।
इजरायलले शुक्रबार इरानको विभिन्न ठाउँमा हवाई आक्रमण गरेको थियो। जवाफमा इरानले पनि इजरायललाई लक्षित गरेर बैलेस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसपछि दुवै मुलुकबीच तनाव बढेको छ।
इरानले शनिबार बिहान इजरायलमाथि मिसाइल आक्रमण गरेपछि कैयौँ स्थानमा सायरन बजेको थियो। सायरनको आवाज सुनेर लाखौँ मानिस सुरक्षित स्थानतर्फ भागेको बीबीसीले जनाएको छ।
कतिपय मिसाइललाई हावामै नष्ट गरिए पनि केही लक्ष्यसम्म पुगेको बताइएको छ।
इजरायलको इमरजेन्सी सर्भिस मेगन डेविड अडोम (एमडीए) ले जनाएअनुसार इरानले गरेको आक्रमणमा २१ जना घाइते भएका छन्।
यसैबीच चीनले इरानमाथि भएको इजरायली आक्रमणको भत्र्सना गरेको छ। शनिबार बसेको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा चीनका दूत फू कोंगले इजरायलले इरानको सम्प्रभुता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताए।
इरानको परमाणु सम्झौतामाथि नकारात्मक असर पर्न सक्ने बताउँदै उनले चीन चिन्तित बनेको उल्लेख गरे। कोंगले तत्काल सबै सैन्य कारबाही रोक्न इजरायललाई अपिल गरेका छन्।
ऊर्जा र विकाससँग जोडिएका परियोजनाहरूमा चीन र इरान नजिकका साझेदार हुन्।
यता, अमेरिकी ब्यूरो अधिकारी मैकौय पिटले इरानमाथि आक्रमण गर्नुअघि इजरालले अमेरिकालाई जानकारी गराएको बताएका छन्।
बैठकमा बोल्दै उनले इजरायलले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको बताए।
‘अमेरिकालाई यसबारे पहिले नै जानकारी दिइएको थियो। तर, यो मामिलामा अमेरिकाको कुनै सैन्य भागिदारी छैन,’ उनले भने,‘अमेरिकी नागरिक, कर्मचारी र सैनिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो।’
इरानले अमेरिकी मानिस वा संसाधनमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने पिटले चेतावनी दिए। इरान वार्ताको माध्यमबाट यो मामिलालाई शान्तिपूर्ण तरिकाले समाधान गरोस् अमेरिकाको चाहना रहेको उनको भनाइ छ।