
सिंगापुर दक्षिणपूर्व एसियामा रहेको एक सानो टापु देश हो। यसको क्षेत्रफल जम्मा ७१०.२ वर्ग किलोमिटर (२७४.२ वर्ग मिल) छ। यसमा एउटा मुख्य टापु र ६३ वटा ससाना टापु छन्। यो भूमध्य रेखाबाट लगभग एक डिग्री अक्षांश (१३७ किलोमिटर वा ८५ माइल) उत्तरमा रहेको छ। यो देश हिन्दमहासागरको पूर्वी भागमा अवस्थित छ।
सिंगापुरको इतिहास हेर्दा सन् १८१९ मा यसलाई स्ट्यामफोर्ड राफल्सले ब्रिटिस साम्राज्यको उद्यमी व्यापारिक क्षेत्रका रूपमा स्थापित गरेको देखिन्छ। सन् १८६७ मा सिंगापुर बेलायतको प्रत्यक्ष नियन्त्रणमा देखियो। सन् १९४२ मा सिंगापुरमा जापानले कब्जा जमाएको थियो र दोस्रो विश्वयुद्ध सन् १९४५ मा जापानको आत्मसमर्पणपछि सिंगापुर फेरि बेलायतको नियन्त्रणमा फर्कियो। सिंगापुरले सन् १९५९ मा स्वशासन प्राप्त गरेको हो। सन् १९६३ मा सिंगापुर मलाया, उत्तरी बोर्नियो र सारावाकसँगै मलेसियाको नयाँ संघमा आबद्ध भयो। तर त्यसको दुई वर्षपछि नै सिंगापुरलाई त्यो संघबाट निष्कासन गरियो। ९ अगस्ट १९६५ मा सिंगापुर एक स्वतन्त्र सार्वभौम देश बन्यो।
सिंगापुर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो बन्दरगाह हो। यो बन्दरगाह विश्वका सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो। सिंगापुर एक लामो कालखण्डसम्म ब्रिटिस उपनिवेशका रूपमा रह्यो। सिंगापुरको मुख्य टापुको लगभग दुईतिहाई भाग समुद्र सतहभन्दा ५० फिट (१५ मिटर) भन्दा कम उचाइमा छ। सिंगापुरको उँचो भाग तिमाह हिल हो र यसको उचाइ ५३१ फिट (१६२ मिटर) छ।
वर्तमान अवस्थामा सिंगापुर एक प्रमुख उड्डयन, वित्तीय र समुद्री ढुवानी केन्द्र हो। सिंगापुर शिक्षा, स्वास्थ्य सेवा, जीवनको गुणस्तर, व्यक्तिगत सुरक्षा, पूर्वाधार र आवास, न्यून शिशु मृत्युदर, सबैभन्दा लामो औसत आयु, द्रूत गतिको इन्टरनेट, कम भ्रष्टचार जस्ता प्रमुख सामाजिक सूचकमा उच्च स्थानमा रहेको देखिन्छ। सिंगापुरको जनघनत्व उच्चतम भए पनि सहरी योजनाको परिणामस्वरूप सिंगापुरमा पर्याप्त हरियालीयुक्त र मनोरञ्जक स्थलहरू रहेका छन्। सिंगापुर बहुसांस्कृतिक राष्ट्र हो। सिंगापुरमा अंग्रेजी, मलय, मन्डारिन र तमिल गरी चार आधिकारिक भाषाहरू छन्। सिंगापुरमा सार्वजनिक सेवाहरूमा विशेष प्रयोगको मान्यतासहित अंग्रेजी भाषालाई साझा भाषाको रूपमा लिने गरिन्छ। प्रवासी र विदेशी कामदारहरूका लागि बस्नको लागि विश्वका सबैभन्दा महँगो सहरहरूमध्ये एकका रूपमा रहेको छ।
स्वतन्त्र पारिवारिक पर्यटकीय भ्रमणका क्रममा कौशु र म हाम्रा दुई छोरा सम्यक र सार्थकसहित २७ असोज २०८० तदनुसार १४ अक्टोबर २०२३ को बिहान सिंगापुरको चांगी एयरपोर्टमा आइपुगेका हौँ। हामी काठमाडौँबाट बाटिक एयरबाट क्वालालाम्पुर इन्टरनेसनल एयरपोर्ट हुँदै यहाँ आएका हौँ। काठमाडौँबाट क्वालालाम्पुर इन्टरनेसनल एयरपोर्ट आइपुग्न हामीलाई लगभग पाँच घन्टा लागेको थियो र क्वालालाम्पुर इन्टरनेसनल एयरपोर्टबाट चांगी एयरपोर्टमा आइपुग्न लगभग डेड घन्टा लाग्यो।
चांगी एयरपोर्टमै छ- जेवेल। समुद्रको पानी माथि लगेर झारेर निर्माण गरेको झरना। कृत्रिम झरना। यसमै झुम्मिएका छन्- विभिन्न देशका पर्यटकहरू। सबैलाई यस झरनालाई पृष्ठभूमिमा राखेर फोटो खिच्नु छ र यसलाई स्मृतिमा समेट्नु छ। असंख्य खोला/खोल्साहरूले छाँगाको स्वरुप गरेको देशबाट आएका हामी। सामान्यतया छाँगा/झरनाले लोभ्याउँदैनन् हामीलाई। तर जेवेल प्राकृतिक झरना होइन; मानवनिर्मित झरना! हामी पनि लठ्ठ पर्छौँ।
अब हामीलाई एएम होटलमा पुग्नु छ। चांगी एयरपोर्टबाट एएम होटलसम्म पुग्नका लागि हामीले ग्राबमा ट्याक्सी खोज्नुपर्छ। एएम होटलमा हामीले दुइटा रुम लिएका छौँ। यहाँ हामी तीन रात बिताउनेछौँ र यसको दस्तुर जम्मा ५१ हजार नेपाली रुपैयाँ।
होटल चोक जस्तै स्थानमा छ तर सामान्य छ। रिसेप्सनमा हामीले केही समय प्रतीक्षा गर्नुपर्छ। हवाईजहाजमा यति लामो यात्रा भएको हाम्रो हकमा पहिलो घटना हो; रातमा निदाउने कुरै भएन; अब अहिले निन्द्राले झुपुझुपु बनाएको छ। केही समयको प्रतीक्षापछि हाम्रो हातमा साँचो आयो। दोस्रो तलामा हो- हाम्रो रुम। दोस्रो तलामा जानका लागि हामीले लिफ्ट प्रयोग गर्नुपर्छ। काठमाडौँमा धेरै अग्ला भवनको माथिल्लो तलामा उक्लिन/झर्न लिफ्टको प्रयोग गर्दैआएका हामी; यहाँ सामान्य उचाइको होटलमा तलमाथि गर्न भर्याङको साटो लिफ्ट प्रयोग गर्नुपर्छ!
कोठा ससाना छन्- दुवै कोठा। एउटामा दुई छोराहरू; अर्कोमा हामी दम्पती। कोठा एटेज बाथरुम हो र सबै कोणबाट सुविधासम्पन्न नै छ; पानी तलाउन जग छ; पानी चै किन्नुपर्छ। पानी प्रतिबोतल ३ सिंगापुरे डलर। (मुद्रा विनिमय दर : १ अमेरिकी डलर बराबर १.३६५ सिंगापुर डलर)
पानी हामी चारैजना प्रशस्त पिउँछौँ। तर आज त खाना खान पनि बाँकी छ।
आज हाम्रो पर्यटकीय सूचीमा परेको मुख्य विषय छ; ‘मेरिना बे’को सुन्दर दृश्यावली। मेरिना बे साँझमा सुन्दर देखिन्छ; त्यसका लागि अझै समय छ। यस बीचमा हामीले के गर्ने?
सबैलाई भोक लागेको छ; खानाको सन्दर्भले प्राथमिकता पाउनु स्वाभाविक हो। कौशु दालभात सम्झिन्छिन्।
हामीकहाँ होटलमा सबैभन्दा सजिलै पाउने नै दालभात हो; हामीले सबैभन्दा बढी खाने गरेको पनि त्यही हो। कौशुको यो सामान्य/स्वाभाविक इच्छालाई हामीले किन बेवास्ता गर्ने? तर एएम होटलमा त कोठा मात्र छन् जस्तो छ; दालभात खानका लागि होटलबाट बाहिर निस्किनु पर्छ।
होटल यत्रतत्र होलान्; नजिकै पनि होलान्; जाबो होटलसम्म जानका लागि किन ट्याक्सी लिइरहनुपर्छ र!
हामी पैदल निस्केका छौँ। केही दूरी हिडी पनि सकियो; होटल देखिएको छैन। कसैलाई सोध्ने कुरा भएन। जाबो होटल फेला पार्नु कुन ठूलो कुरा हो र!
रेस्टुरेन्टहरू प्रशस्त देखियो; तर होटल भेटिएन।
दालभात पाइने होटल नभेटेर हत्तु भएपछि र सिंगापुरमा ‘लिटिल इन्डिया’ भन्ने ठाउँ पनि छ भन्ने थाहा भएपछि हामी ‘लिटिल इन्डिया’तिरै सोझियौँ। दालभात हामी नेपाली र भारतीय समुदायको ‘साझा सवाल’ हो; सिंगापुरमा अरु समुदायले दालभात खाए पनि, नखाए पनि इन्डियाबाट सिंगापुर आएर ‘लिटिल इन्डिया’ बनाएर बसेको समुदायले त पक्का पनि दालभात खान्छ; त्यतै जानुपर्छ।
लिटिल इन्डियामा पुगेपछि केही तरकारी पसल पनि देखिए; कुनाकाप्चामा केही फोहर पनि देखिन थाल्यो। यो क्षेत्र हामीले भरखर देखेको सिंगापुरको अन्य क्षेत्रजति व्यवस्थित पनि छैन। हामीलाई लाग्यो; दालभातका लागि हामी बल्ल सही ठेगानामा आइपुगेका छौँ। तर खोज्नै लागेपछि थाहा भयो- सिंगापुरमा दालभात पाउन सजिलो छैन; अरू त अरू; लिटिल इन्डियामा पनि दालभातवाला होटल फेला पार्न सहज हुँदैन।
कोप्चोकोप्चो परेको ठाउँमा एउटा होटल फेला पर्यो; दालभात छ तर थोरै पनिरसहितको शुद्ध दालभातलाई ‘प्रतिव्यक्ति एक्काइस डलर’ पो भन्छ!
सिंगापुर अत्यधिक महँगो छ भन्ने जानीबुझी यहाँ आएका हौँ- हामी। यत्रो हन्डरपछि बल्लबल्ल दालभातवाला होटल पाइएको छ; अब होटलको रेट सुनेर जाबो दालभात खाने सवालमै हामीले ‘गौडा हार्नु’ हुन्छ!
खाना सामान्य छ। चामल औसत स्तरकै छ। दाल बाक्लो छ र झानेको छ; (भैरहवा र तराईतिरका होटलमा यस्तो दाललाई ‘दालफ्राइ’ भन्छन् क्यार!) अनि बाक्लो लेदो- पनिरको। एक टुक्रा पापड। छोराहरू काँटाचम्चा चलाउँछन्; हामीलाई हातले मुछेर खानु जस्तो स्वाद केही गरे आउँदैन। हात धुन र चुठ्न पानी किन्नु पर्दैन; पिउन किन्नुपर्छ। खाना खाँदा हामीलाई पिउने पानी आवश्यक पनि पर्दैन ।
सिंगापुरमा दालभात खोज्न पाएको हन्डर, दालभातको स्वाद र दालभातका लागि तिरेको पैसालाई जोडेर कौशुले स्वघोषणा गरिन्- ‘सिंगापुरमा रहुन्जेल अब दालभात खाइँदैन।’