
बुटवल– पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्धनका लागि होटल संघको टोली जाऊँ है पोखरा अभियानसहित पश्चिम नेपाल हिँडेका छन्। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘जाऊँ है पोखरा’ अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ।
अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्धनमा जेठ २९ गते देखि असार २ गतेसम्मका लागि पश्चिम नेपालका बटवल, नेपालगन्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन गरेको हो।
बुटवलमा आयोजित कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जाऊँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रवर्धननमा महत्त्वपूर्ण योगदान गर्ने स्पष्ट पार्दै पोखरा र लुम्बिनीलाई जोडेर अभियान थाल्नुपर्ने बताए। उनले आफू पोखरामा रहँदा रात्रीकालिन बजार सञ्चालनमा भूमिका खेलेको स्मरण गरे । ‘पोखरा प्राकृतिक रुपमा सुन्दर पर्यटकीय राजधानी हो। लुम्बिनी आध्यात्मिक राजधानी हो’, प्रमुख जिल्ला अधिकारी घिमिरेले भने।
उनले लुम्बिनीलाई आधात्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने गरी अगाडि बढ्नुपर्ने बताए।
नेपाल होटल संघ (हान) का केन्द्रीय सदस्य सीपी श्रेष्ठले नेपालमा जनसंख्या निकै न्यून भएकाले आन्तरिकभन्दा विदेशी पर्यटकलाई नै आर्कषित गर्ने गरी अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले सरकारले लिने नीतिका कारण पर्यटकहरू आउन नसकेको र आएकाहरूले खर्च नगरेको समेत बताए।
श्रेष्ठले सरकारले भन्सार जाँचमा लिएको नीति, भारतीयहरूलाई २५ हजारभन्दा बढी ल्याउन नदिने नीतिमा पाँच हजार डलरसम्म ल्याउन दिने जस्ता प्रावधान राखेर बजेट आएकाले त्यसले पर्यटन क्षेत्रमा आशा जगाएको बताए।
यसैगरी अन्तरक्रिया कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष एवम् जाऊँ है पोखरा अभियानका संयोजक लक्ष्मण सुवेदीले दुई दशकअघि सुरु भएको अभियानले आन्तरिक पर्यटकलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरे। उनले बुटवल भैरहवाका होटल व्यवसायीहरूसँग सहकार्य गरेर विगतदेखि नै काम गर्दै आइरहेको बताए।
होटल तथा पर्यटन व्यवसायी गोपाल रानाले वर्तमान सरकारले होटललाई उद्योगसरहको मान्यता दिएर बजेट ल्याएकाले सकरात्मक ऊर्जा पैदा भएको बताए।
कार्यक्रममा होटल व्यवसायी महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, लेखक युवराज कँडेललगायतले आन्तरिक पर्यटन प्रवर्धनमा जाऊँ है पोखरा बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरूका लागि समेत सिकाइ हुने बताए। अभियानअन्तर्गत बुटवलपछि नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा कार्यक्रम रहेको आयोजकले जनाएका छन्। पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन समेत अभियानले अपिल गरेको छ।
होटल संघ पोखराका अनुसार पोखराको होटल क्षेत्रमा पाँच खर्ब हाराहारीको लगानी छ। पोखराका एक हजार दुई सय होटलमा ४० हजार बेड तथा करिब २० हजार जनाले रोजगारी पाएको संघको दाबी छ। आन्तरिक पर्यटन प्रवर्धनकै लागि संघले फेवा नववर्ष महोत्सव, भाइटीका महोत्सव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव र खेलकुदका कार्यक्रम समेत गर्दै आएको जनाएको छ। संघले भारतीय पर्यटन प्रवर्धनका लागि भारतीय सहरमा ‘चलिए पोखरा अभियान’ समेत सञ्चालन गर्दै आएको जनाएको छ।
यसैगरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरूमा समेत संघले सहभागिता जनाउँदै आएको छ। पोखरामा बन्जी जम्पिङ, जिप लाइनिङ, विभिन्न मठमन्दिरमा सन्ध्याकालीन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायत दर्जनौँ पर्यटकीय सेवा उपलब्ध रहेको अवगत गराउँदै पोखरा नेचर, कल्चर र एड्भेन्चर सबै हिसाबले उपयुक्त पर्यटकीय गन्तव्य भएको दाबी संघको छ।