एयर इन्डियाको विमान दुर्घटना : मोदीको स्थलगत अवलोकनपछि अनुसन्धान सुरु

हिमाल प्रेस ३० जेठ २०८२ १३:०५
52
SHARES
एयर इन्डियाको विमान दुर्घटना : मोदीको स्थलगत अवलोकनपछि अनुसन्धान सुरु दुर्घटनास्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर साभार : मोदीको एक्स

काठमाडौँ- भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार एयर इन्डियाको विमान दुर्घटना भएको ठाउँ अहमदाबाद पुगेका छन्। प्रधानमन्त्री मोदी सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सोझै मेघानी नगर क्षेत्रस्थित दुर्घटना स्थलमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा कम्तीमा २६५ जनाको ज्यान गएको छ। मोदीले झण्डै २० मिनेटसम्म दुर्घटना स्थलको निरीक्षण गरेका थिए।

घटनाबारे नागरिक उड्डयनमन्त्री के राममोहन नायडू र गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष सांघवीले प्रधानमन्त्री मोदीलाई विस्तृत जानकारी गराएका थिए। मोदीका साथमा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल पनि थिए। त्यसपछि मोदीले सिभिल अस्पतालमा उपचाररत विमान दुर्घटनामा घाइतेहरूसँग भेट गरेका छन्। उक्त अस्पतालमा २५ जना घाइतेको उपचार भइरहेको छ। उनले अस्पतालका चिकित्सकसँग पनि छलफल गरेका छन्।

मोदीले दुर्घटनास्थलको अवलोकन गरेको जानकारी एक्समा दिएका छन्। उनले लेखेका छन्, ‘आज अहमदाबादमा दुर्घटनास्थलको भ्रमण गरेँ। विनाशको दृश्य निकै दुःखद थियो। घटनापछि अविरल परिश्रम गरिरहेका अधिकारीहरू र टोलीहरूसँग भेटघाट गरेँ। यस अकल्पनीय विपत्तिमा आफ्ना प्रिय गुमाएकाहरूप्रति हाम्रो गहिरो समवेदना छ।’

बोइङ ७८७ ड्रिमलाइनर (एआई) विमान बिहीबार दिउँसो सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै मेघानी नगर क्षेत्रको एक मेडिकल कलेज परिसरमा खसेको थियो।  मानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ जना थिए। दुर्घटनामा एकमात्र यात्रु विश्वासकुमार रमेश बचेका छन्। उनी भारतीय मूलका बेलायती नागरिक हुन्। उनको उपचार अहमदाबादस्थित सिभिल अस्पतालमा भइरहेको छ। विमानमा दुई जना पाइलट र चालक दलका १० सदस्य थिए।

दुर्घटनामा मृत्यु हुनेमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगाली नागरिक र एकजना क्यानाडेली नागरिक थिए।

दुर्घटनामा विमानभित्रका भुइँमा रहेका थुप्रै व्यक्तिहरूको पनि ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार अहमदाबादकी प्रहरी उपायुक्त कनन देसाईले अहिलेसम्म २६५ वटा शव भेटिएको दिएकी छन्। यसअनुसार भुइँमा रहेका कम्तीमा २४ जनाको पनि मृत्यु भएको पुष्टि भएको छ। यद्यपि हाल पनि शरिरका अन्य अंगहरू फेला परिरहेका छन्, जसले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ। देसाईले मृतकहरूको आधिकारिक संख्या डीएनए परीक्षण पूरा भएपछि मात्र सार्वजनिक गरिने बताएकी छन्।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मृतकहरूको आधिकारिक संख्या डीएनए परीक्षणपछि मात्र घोषणा गरिने बताएका छन्। उनले विदेशमा रहेका पीडितका आफन्तहरूलाई सूचित गरिएको र उनीहरूको डीएनए नमुना संकलन गरिने जानकारी दिएका छन्। अधिकारीहरूले जनाएअनुसार दुर्घटनापछि अधिकांश शवहरू गम्भीर रूपमा जलेका छन्, जसका कारण पहिचान गर्न निकै कठिन भइरहेको छ।

अल इन्डिया मेडिकल एसोसिएसनका अध्यक्ष अक्षय डोंगारडिवले शवहरूको डीएनए परीक्षण सुरु गरिएको बताएका छन्। दुर्घटनामा ज्यान गुमाएका आफ्ना प्रियजनहरूको शव पाउनका लागि पीडितका आफन्तहरू अहमदाबादको सिभिल अस्पताल बाहिर प्रतीक्षा गरिरहेका छन्।

प्रधानमन्त्रीको स्थलगत अवलोकनपछि घटनाबारे छानबिन सुरु भएको छ। विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुनुको कारण पत्ता लगाउन औपचारिक जाँच प्रक्रिया सुरु गरिसकेको छ।

विमान दुर्घटनाको अनुसन्धानमा अब धेरैजसो अन्तर्राष्ट्रिय टोलीहरू पनि संलग्न हुनेछन्। नागर विमानमन्त्री राममोहन नायडूले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘एयरक्राफ्ट एक्सिडेन्ट ब्युरोले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का नियमअनुसार औपचारिक अनुसन्धान सुरु गरेको छ।

अनुसन्धानमा सहयोगका लागि अमेरिका सरकारका तर्फबाट विशेषज्ञहरूको टोली भारत आउन लागेको समाचारमा उल्लेख छ। विमानको ब्ल्याक बक्स, फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन। अधिकारीहरूले घटनास्थलको गहिरो रूपमा खोजतलास गरिरहेका छन्।

प्रकाशित: ३० जेठ २०८२ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast