
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षणका लागि शुक्रबार ‘धर्मपथ महोत्सव’ आयोजना गर्दैछ। महानगरको वडा २३ को आयोजनामा धर्मपथमा महोत्सव गर्न लागिएको हो।
विशेषगरी वडाभित्रका मौलिक चालचलन, रहनसहन, वाद्यवादन, गायन, नृत्यलगायत गुठी, खच, पुचले परम्पराका रूपमा मानेका, आफ्नै प्रयत्नले पनि धानेका सम्पदाको प्रवर्धनका लागि मेला आयोजना गरिएको वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए।
‘गुठीले नियमित चलाएका चलनसँगै यस्ता अमूर्त सम्पदाको संरक्षणका लागि वडाको सहयोगमा सांस्कृतिक प्रशिक्षण सञ्चालन भएका छन्।
प्रशिक्षणबाट बादन, गायन, नृत्यलगायत सिप प्रदान भएको छ। मेलामा यी सिप प्रदर्शन हुनेछ’, महर्जनले भने, ‘स्थानीय उत्पादन वृद्धिका लागि वडाले प्रदान गरेको सीपमूलक तथा व्यावसायिक तालिमबाट उत्पादित वस्तुको बजारीकरणका लागि पनि मेला आयोजना गरिएको हो।’
मेलामा सांस्कृतिक कार्यक्रमसँगै, स्वास्थ्य परीक्षण शिविर, स्थानीय तथा मौलिक खाद्य परिकारका स्टल, स्थानीय उत्पादनमा हस्तकला तथा परम्परागत वस्तु तथा सामानको स्टल रहनेछ।
दिउँसो १ः०० बजेदेखि सुरु हुने मेलाअन्तर्गत अपराह्न ४ः३० देखि ६ः०० बजेसम्म स्थानीय गुथि, खल, पुचका कलाकारको प्रस्तुति रहने छ। त्यसपछि कुटुम्ब ब्याण्डले प्रस्तुति दिनेछ।