आफ्नै साहुलाई हनिट्रयापमा पार्न खोजेपछि…

हिमाल प्रेस २९ जेठ २०८२ २०:२१
34
SHARES
आफ्नै साहुलाई हनिट्रयापमा पार्न खोजेपछि…

पोखरा- एक जना सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्नेहरू कास्की प्रहरीको फन्दामा परेका छन्। एक युवतीसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पोखरा-४ मा रहेको एक सुनचाँदी पसलमा कार्यरत मरियम राईले मोटो रकम माग्ने नियतले आफूमाथि पसल सञ्चालकले यौन दुर्व्यवहार गरेको झुटा आरोप लगाएकी हुन्। त्यसका लागि उनले पूर्वी नेपाल घर भएका दुई जना युवकलाई प्रयोग गरेको खुलेको छ।

५० लाख फिरौती माग गर्ने योजनामा पोखरा-१५ निवासी २७ वर्षीया राईले विराटनगर घर बताउने ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई प्रयोग गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ।

तीनै जनाको योजनाबमोजिम उनीहरूले पसल सञ्चालककी श्रीमतीलाई पोखराको लेकसाइडस्थित एक होटलमा बोलाई अनेक धाकधम्की दिँदै उनका श्रीमानबाट ५० लाख फिरौती माग गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘जिन्दगीभर पुग्ने धनसम्पत्ति, बस्ने घर तथा व्यवसायको लागि प्रबन्ध गरी दिनुहोस्, होइन भने हामी तिम्रो श्रीमानका विरुद्ध विभिन्न मुद्दा मामिला गरी सडाइदिन्छौं’ भनेको उनीहरूको भनाइ उद्घृत गर्दै कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए। बस्नेतका अनुसार ती युवतीले नातामा आफन्त पर्ने लिम्बु र सुवेदीलाई प्रयोग गरेर सुनचाँदी पसलकी श्रीमतीलाई एक सातासम्म मानसिक तनाव दिएका थिए।

यो विषय प्रहरीसमक्ष पुगेपछि प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट तीन थान मोबाइल, बार्गेनिङ गरेको अडियो सहितको पेनड्राइभ एक थान र एक्सटर्सनसँग सम्बन्धित अन्य कागजातहरू पनि बरामद गरेको छ। उनीहरूलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले जानकारी दिए।

प्रकाशित: २९ जेठ २०८२ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast