
काठमाडौँ- भारतको गुजरात राज्यमा २४२ जना चढेको एयर इन्डियाको विमान बिहीबार दुर्घटना भएको छ। अहमदाबादस्थित सरदार बल्लभभाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै भएको दुर्घटनामा भएको मानवीय क्षतिको विवरण आइसकेको छैन।
विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। उडान नम्बर एआई १७१ को उक्त विमान अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको थियो।
विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, सातजना पोर्चुगाली र एकजना क्यानाडाली नागरिक सवार रहेको एयर इन्डियाले आफ्नो एक्स ह्यान्डलमा लेखेको छ। तीमध्ये ११ जना बालबालिका रहेको बताइएको छ।
टेलिभिजन च्यानलहरूले विमान आवासीय क्षेत्रमाथि खसेको देखाएका छन्। भिडियोहरूमा विमानको भग्नावशेष आगोमा परेको देखिन्छ। धुवाँको मुस्लो आकाशतिर उठेको छ। साथै केही दृश्यहरूमा मानिसलाई स्ट्रेचरमा सारिएको र एम्बुलेन्समार्फत लगिएको देखाइएको छ।
बी७८७ ड्रिमलाइनर विमानले स्थानीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा उडान भरेको थियो। जमिन छाडेको पाँच मिनेटभित्रै दुर्घटना भएको थिए। विमानका प्रमुख पाइलट सुमित सभरवाल र सहपाइलट क्लाइव कुन्दर थिए। दुर्घटना हुनुअघि उनीहरूले विमानमा प्राविधिक समस्या रहेको बताएका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायत सरकारले भारतीय निकायसँग मिलेर दुर्घटनाको विवरण यथाशक्य छिटो पत्ता लगाउने र प्रभावितलाई आवश्यक सहयोग पुर्याउने प्रयास भइरहेको जनाएको छ। बेलायती परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता व्यक्त गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिक उड्डयनमन्त्रीको कार्यालयलाई उद्धार प्रयासमा तत्काल पूर्ण सहयोग पुर्याउन निर्देशन दिएका छन्। सम्बन्धित सबै निकाय उच्च सतर्कतामा राखिएको र समन्वयात्मक उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
अहमदाबाद गुजरात राज्यको प्रमुख सहर हो, जुन मोदीको गृहप्रदेश हो। अहमदाबाद विमानस्थलले तुरुन्तै सबै उडान सञ्चालन बन्द गरेको छ। उक्त विमानस्थल भारतको अडानी ग्रुपले सञ्चालन गरेको हो।
अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतम अडानीले एक्समा लेखेका छन्, ‘एयर इन्डिया फ्लाइट १७१ को यो दर्दनाक दुर्घटनाले हामी अत्यन्त स्तब्ध र दुःखी छौँ। यस दुर्घटनामा ज्यान गुमाउने परिवारप्रति हाम्रो गहिरो समवेदना छ। हामी सबै सम्बन्धित निकायहरूसँग मिलेर परिवारहरूलाई पूर्ण सहयोग गरिरहेका छौँ।’
बीबीसीका अनुसार एयर इन्डिया दुर्घटना बोइङ ७८७ विमानको इतिहासमा पहिलो पटक यस्तो प्रकारको दुर्घटना भएको हो। बोइङ ७८७ ड्रिमलाइनर मोडेल १४ वर्षअघि सार्वजनिक गरिएको थियो।
केही साताअघि मात्र बोइङ कम्पनीले ड्रिमलाइनरले एक अर्ब यात्रु बोकेको उपलब्धिलाई उत्सवका रूपमा मनाएको थियो। कम्पनीले एक हजार १७५ भन्दा बढी ७८७ विमानहरूले झन्डै ५० लाख उडान भरेको र तीन करोड उडान घण्टा पूरा गरिसकेको जानकारी दिएको थियो।
यो दुर्घटनाले कम्पनीका लागि गहिरो क्षति पुगेको छ। विशेषतः बोइङ ७३७ मोडेलसँग सम्बन्धित अघिल्ला ठूला दुर्घटनाहरूका कारण कम्पनी पहिलेदेखि नै आलोचना र संकटको घेरामा छ।
यो घटना बोइङका प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गका लागि अर्को परीक्षा पनि बनेको छ। उनी अब केही दिनमै आफ्नो कार्यकालको पहिलो वार्षिकोत्सव मनाउँदै छन्।
उनी अमेरिकी विमान निर्माता कम्पनीलाई समस्याबाट बाहिर निकाल्न र भविष्यप्रति उठेका गम्भीर प्रश्नहरूको जवाफ दिन जिम्मेवारीसाथ नियुक्त गरिएको थियो।
बोइङले अहमदाबादमा भएको दुर्घटनाबारे जानकार रहेको थप जानकारी संकलनमा जुटिरहेको जनाएको छ।