संसद्को गतिरोध खुलाउन प्रचण्ड र माधव नेपाल के भन्छन्?

हिमाल प्रेस २९ जेठ २०८२ १५:५४
54
SHARES
संसद्को गतिरोध खुलाउन प्रचण्ड र माधव नेपाल के भन्छन्?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच संसद्को गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी भएको छ।

सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बिहीबार दुई अध्यक्षबीच पछिल्लो राजनीतिक अवस्था र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए। उनले विपक्षीलगायत अन्य दलहरुसंग छलफल गरेर आवश्यक निर्णय हुने बताए। सदनको गतिरोध खुलाउन माओवादीको दुईबुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ। भेटवार्तामा माओवादी उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी थिए।

यसैबीच प्रतिपक्षी दलहरू ‘भिजिट भिसामार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने विषयमा एक ठाउँमा उभिएका छन्।

बिहीबार बसेको प्रतिपक्षी दलहरूको बैठकको निर्णयबारे जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू भिजिट भिसामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष छ।’

प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन्।

जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक अझै सञ्चालनमा आउन सकेको छैन। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग प्रतिपक्षी दलको छ। प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीकमा सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २९ जेठ २०८२ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast