
काठमाडौँ- भ्वाइस अफ नेपालको छैटौँ सिजनको अडिसनमा गंगा सोनामले देउडा गीत गाइन्, ‘डोली चढाई लैजान्या हो सुवा..’। सिन्धुपाल्चोककी गंगाले देउडा गाउँछिन् भनेर आइडलका निर्णायकहरूले विश्वास गरिहाल्न सकेका थिएनन्। देउडा सुदूरपश्चिम प्रदेशमा प्रचलित भाका हो।
जब गंगाले गाउन थालिन् निर्णायकहरू न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी छक्क परे। उनको सुरिलो, मिठासपूर्ण र मौलिक स्वरमा कुनै खोट लगाउन सकेनन्। त्यसपछि खुलेरै प्रशंसा गरे। संगीतको कुनै सीमा हुँदैन भन्ने उनीहरूको आशय थियो।
गंगाले गाएको उक्त गीतको क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल छ। उनको सरल स्वभाव र लजालुपन देखेर प्रशंसकहरू थपिएका छन्। साथै उनलाई सांगीतिक यात्राको शुभकामनासमेत दिएका छन्। पछिल्ला दिनमा उनले दर्शकश्रोताको पनि मन जित्न सफल भएकी छन्।
यतिबेला भ्वाइस अफ नेपालको छैटौँ सिजन चलिरहेको छ। गंगाले अडिसन हुँदै थिएटर राउन्ड पार गरिसकेकी छन्। उनले थिएटर राउन्डमा तारादेवीको स्वर रहेको ‘साँगुरी बारी नि हो..’ बोलको गीत गाइन्। यसले पनि उनको चर्चा बढाइरहेको छ। दर्शकले उनलाई अहिलेकी चर्चित गायिका रचना रिमालसँग तुलना गरेका छन्।
आइडकलका निर्णायक गायक न्यूह बज्राचार्यले पनि कार्यक्रममै उनलाई रचना रिमालसँग दाँजेका थिए। ‘पहिले यहाँ तिमीजस्तै रचना थिइन्। तिम्रो स्वर अर्गानिक नेपालीको जस्तो छ। त्यसलाई बचाएर राख्नु,’ उनले भनेका छन्।
अधिकांश दर्शकले यसपटक आइडल जित्नुपर्छ भन्दै हौसला पनि थपिरहेका छन्। यो देखेर गंगा निकै खुसी छिन्। उनले सामाजिक सञ्जालमा दर्शकले दिएको मायाले आफूलाई थप हौसला मिलिरहेको बताएकी छन्।
आइडल प्रवेशअघि गंगाले ‘बेलबटम’ बोलको गीत गाइसकेकी छन्। यो उनको पहिलो गीत हो। अमृत भारतीको शब्द रहेको गीतमा रामकुमार नेपालीले संगीत भरेका छन्। गीतमा गंगासहित रामकुमार नेपाली, अमृत भारती र सञ्चिता नेपालीको स्वर छ। गीतका केही टुक्का टिकटक तथा फेसबुक रिल्समा पनि चर्चित छ।
उमेरले गंगा २० वर्ष पुगिन्। उनी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० स्थित बडहरेमा जन्मिएकी हुन्। पिता ध्रुव सोनाम र माता सीता सोनामको कान्छी सन्तानका रूपमा उनको जन्म भयो। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरिसकेकी छन्।
बाल्यकादेखि नै उनी संगीतप्रति लगाव राख्थिन्। गीत गुनगुनाउँथिन्। विद्यालयमा सांगीतिक कार्यक्रममा पनि सहभागी हुन्थिन्। उनका दाइ पनि लामो समयदेखि संगीत क्षेत्रमै आबद्ध छन्। मोडलसमेत रहेका गायक दीपेन्द्र सोनमका ‘पर्खाइ’, ‘चोखो माया’, ‘बदमास’, ‘माहुरी चिनीमा’ ‘मेरो हजुर’ लगायत गीत चर्चित छन्।
परिवारमै सांगीतिक वातावरण भएपछि संगीत क्षेत्रमा लाग्न उनलाई कुनै रोकतोक नभएको दीपक बताउँछन्। ‘बहिनीको गायनलाई आमदर्शकले मन पराइदिनुभएको छ। सहयोग पनि गरिरहनुभएको छ। हामी निकै खुसी छौँ’, गंगाका दाइ दीपेन्द्रले भने, ‘गंगा बाल्यकालदेखि नै गीत गाउन मन पराउँथिन्। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थिन्। म संगीतमै भएकोले उनलाई केही सहज भयो। मेरा कतिपय अपूरा सपना बहिनीले पूरा गर्नेछिन् भन्ने लागेको छ।’
संगीतलाई जीवनको लक्ष्य बनाउने उद्देश्यसहित केही महिनाअघि गंगा काठमाडौँ प्रवेश गरिन्। उनले चर्चित संगीतकार रामकुमार नेपालीसँग संगीत सिकेकी छन्। गंगालाई संगीत सिकाउने पहिलो गुरु गायक राम कुमार हुन्। उनले नै गंगालाई ‘बेलबटम’ बोलको गीत गाउन अवसर दिएको दीपेन्द्रले बताए।
नेपाल आइडलमा उनको यात्रा कहाँसम्म पुग्छ त्यो हेर्न बाँकी नै छ। तर संगीत क्षेत्रमा नयाँ गायिकाको उदय पक्कै भएको मान्न सकिन्छ। गंगालाई थप सांगीतिक यात्राका लागि शुभकामना!