
काठमाडौँ- सन् २०२५ अप्रिलको अन्त्यसम्म विश्वभर १२ करोड २१ लाख मानिस जबरजस्ती विस्थापित भएका छन्। यो संख्या गत वर्ष सोही समयमा १२ करोड थियो। संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर) ले बिहीबार सार्वजनिक गरेको वार्षिक ‘ग्लोबल ट्रेन्ड्स रिपोर्ट’ मा उक्त विवरण उल्लेख छ।
जबरजस्ती विस्थापन भोग्न बाध्य शरणार्थी र अन्य व्यक्तिहरूको संख्या हरेक वर्ष बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ। सुडान, म्यानमार, युक्रेनजस्ता देशमा भइरहेका द्वन्द्व रोक्न नसक्नु विस्थापन बढाउने प्रमुख कारण हो।
यूएनएचसीआरका उच्चायुक्त फिलिपो ग्रान्डीले भने, ‘हामी अन्तर्राष्ट्रिय सम्बन्धहरूमा तीव्र अस्थिरताको युगमा बाँचिरहेका छौँ, जहाँ आधुनिक युद्धले गम्भीर मानवीय पीडाले भरिएको एक नाजुक र त्रासदीपूर्ण अवस्था सिर्जना गरेको छ। हामीले शान्तिको खोजी गर्न र विस्थापितका लागि दीर्घकालीन समाधान निकाल्न अझ कडा प्रयास गर्नु आवश्यक छ।’
जबरजस्ती विस्थापितमा आफ्नै देशभित्र द्वन्द्वका कारण विस्थापित हुनेको संख्या २०२४ को अन्त्यसम्म सात करोड ३५ लाख रहेको छ। यसैगरी आफ्नै देश छोडेर भागेका शरणार्थीको संख्या ४ करोड २७ लाख छन्।
प्रतिवेदनअनुसार सुडान अहिले विश्वकै सबैभन्दा ठूलो जबरजस्ती विस्थापनको केन्द्र बनेको छ। उक्त देशमा शरणार्थी र आन्तरिक रूपले विस्थापितहरूको संख्या एक करोड ४३ लाख पुगेको छ। त्यसपछि सिरिया (एक करोड ३५ लाख), अफगानिस्तानमा (एक करोड तीन लाख) र युक्रेनमा (८८ लाख) मानिस विस्थापित भएका छन्।
प्रतिवेदनले धनी मुलुकहरूमा प्रचलित धारणाविपरीत ६७ प्रतिशत शरणार्थीहरू छिमेकी देशमै बस्ने गरेका छन्। ७३ प्रतिशत शरणार्थीहरूलाई मध्यम वा निम्न आय भएका देशहरूले आश्रय दिएका छन्। ६० प्रतिशत विस्थापितहरूले आफ्नो देश नछोडी बस्ने गर्छन्।
जबरजस्ती विस्थापितहरूको संख्या पछिल्लो दशकमा झन्डै दोब्बर भइसकेको छ। यद्यपि यूएनएचसीआरका लागि उपलब्ध कोष भने सन् २०१५ को स्तरमा झरेको छ। मानवीय सहायता क्षेत्रमा निरन्तर बजेट कटौतीका कारण विस्थापितहरू अझ असुरक्षित अवस्थामा पुगेका छन्।
ग्रान्डीले भने, ‘पछिल्ला ६ महिनामा केही आशाको किरण देखिएका छन्। झन्डै २० लाख सिरियाली एक दशकभन्दा बढी समयपछि पुनः आफ्नो घर फर्किएका छन्। देश अझै पनि नाजुक अवस्थामा छ र उनीहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न हाम्रो सहयोग आवश्यक छ।’
उनकमा अुनसार सन् २०२४ मा ९८ लाख जबरजस्ती विस्थापितहरू आफ्नै घर फर्किएका छन्। घर फर्काइहरू प्रायः कठिन राजनीतिक वा सुरक्षा परिस्थितिमा भएका छन्।