ह्याचरी व्यवसायीलाई घाटा : १३० रुपैयाँमा किन्छन् चल्ला, १०० रुपैयाँमा बेच्छन्

हिमाल प्रेस २९ जेठ २०८२ १२:२८
16
SHARES
ह्याचरी व्यवसायीलाई घाटा : १३० रुपैयाँमा किन्छन् चल्ला, १०० रुपैयाँमा बेच्छन्

चितवन- व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन्। माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो।

बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा ५५ रुपैयाँ हाराहारी खर्च हुने व्यवसायीहरू बताउँछन्। झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा १५-२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन्। कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका छन्।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न ५५ रुपैयाँ खर्च हुन्छ।

निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरू बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए। उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो।

एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो संख्या बढेर ३५ लाख नाघेको छ।

भारतीय क्षेत्रबाट निर्वाध रूपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन्। नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन्।

बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनी बताउँछन्।

उनका अनुसार प्रति गोटा १३० रुपैयाँ खर्च हुने लेयर्स कुखुराको चल्ला पनि १०० रुपैयाँको हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ।

नेपालका ह्याचरी उद्योगहरु हरेक हप्ताको आइतबार र मङ्गलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन्। नेपालमा ११८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन्।

कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । १४ लेयर्स ह्याचरी रहेका थिए। त्यतिबेला एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो। लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ।

चल्लाले मूल्य नपाउनु, दाना र औँषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनु लगायतका कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित हुँदै गएका छन्।

प्रकाशित: २९ जेठ २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast