
काठमाडौँ- सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्।
अख्तियारका अनुसार ठेक्का प्रक्रियामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालसमेत संलग्न रहेका छन्।
ठेक्काका लागि समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको प्रस्ताव पेस गरेको थियो। तर, २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको उच्च कबोल गर्ने कल्पवृक्ष–कोहिनूर जेभीलाई ठेक्का दिइएको आरोप छ।
यसरी सस्तो मूल्य प्रस्ताव गरेको कम्पनीलाई उपेक्षा गरी महँगो कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएपछि चार करोड ३१ लाख ७२ हजार २३७ रुपैयाँ ३२ पैसाको आर्थिक दुरुपयोग भएको ठहर गर्दै अख्तियारले मुद्दा अघि बढाएको हो।
यसबारे उजुरी प्राप्त भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको र प्राप्त प्रमाणका आधारमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
यस्तो छ अख्तियारको विज्ञप्ति