अत्यधिक गर्मीका कारण इनरुवा, इटहरी र भरतपुरका विद्यालयमा बिदा

हिमाल प्रेस २८ जेठ २०८२ १५:३८
24
SHARES
अत्यधिक गर्मीका कारण इनरुवा, इटहरी र भरतपुरका विद्यालयमा बिदा

काठमाडौँ- अत्यधिक गर्मीका कारण सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा विद्यालयमा बिदा दिइएको छ। विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सम्बन्धित स्थानीय तहहरूले पठनपाठन स्थगनको निर्णय गरेका हुन्।

इनरुवा नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै आजदेखि जेठ ३० गतेसम्म तीन दिन विद्यालय बन्द रहने जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका अनुसार अत्यधिक गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर परेकाले पठनपाठन स्थगित गरिएको हो। उक्त बिदा बर्खे बिदाबाट कट्टा गरिने जनाइएको छ।

इटहरी उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा बिदा दिएको छ। कार्यवाहक मेयर संगीता चौधरीका अनुसार तापक्रम अत्यधिक बढेपछि विद्यालय सञ्चालन कठिन भएको र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको हो।

चितवनको भरतपुर महानगरपालिकाले भने आजदेखि शुक्रबार (जेठ ३०) सम्म तीन दिन सार्वजनिक बिदा दिएको छ। शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार बालबालिकालाई दिउँसो घरबाहिर नजान, नदीपोखरीमा पौडी खेल्न तथा माछा मार्ने जस्ता गतिविधिमा संलग्न हुन नदिन अभिभावकहरूलाई अनुरोध गरिएको छ।

चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ। लगातार बढ्दो गर्मीका कारण जनजीवन मात्र होइन शैक्षिक गतिविधि पनि प्रभावित हुन थालेका छन्।

प्रकाशित: २८ जेठ २०८२ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast