प्रतिनिधिसभा बैठक आज पनि ‘अनिश्चित’

हिमाल प्रेस २८ जेठ २०८२ १४:०४
46
SHARES
प्रतिनिधिसभा बैठक आज पनि ‘अनिश्चित’ अवरुद्ध संसद् बैठक खुलाउने विषयमा बुधबार सभामुख देवराज घिमिरेले बुधबार सत्ता र विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफल। तस्बिर स्रोत : सभामुखको सचिवालय

काठमाडौँ- जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक बुधबार पनि तोकिएको समयमा बस्न सकेन। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि गरेको प्रयास पनि सफल हुन सकेको छैन।

बैठक सोमबार करिब ७ मिनेट बसेर स्थगित भएको थियो। बैठक सञ्चालनका लागि सभामुख घिमिरेले बुधबार पनि सत्ता र विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।

‘बैठक आज पनि सञ्चालन होला जस्तो छैन। दलहरू आआफ्नो अडानबाट पछि नहट्दा अझै अनिश्चित छ’, संसद् सचिवालयका एक अधिकारीले भने। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन समिति गठन हुनुपर्ने अडान नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीसहितका विपक्षी दलहरूको छ।

सत्ताधारी नेकपा एमाले र कांग्रेस भने छानबिन समिति गठन गर्ने पक्षमा देखिएका छैनन्।

बैठक अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु हुन सकेको छैन। यसैगरी आर्थिक सर्वेक्षण पनि प्रतिनिधिसभा बैठकमा पेस हुन सकेको छैन। प्रतिपक्षी दलहरूले जेठ १५ गते बजेट भाषणमा भने अवरोध गरेका थिएनन्।

सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा चाँडै सहमति भएर बैठक सञ्चालन हुने संकेत गरेका थिए। यसैगरी बैठकमा सहभागी नेताहरूका अनुसार गृहमन्त्री लेखकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी माओवादी पनि लचक देखिएको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी भने लेखकमाथि छानबिन गर्नुपर्ने अडानबाट पछि हटेको छैन।

प्रकाशित: २८ जेठ २०८२ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast