
काठमाडौँ- लामो समयदेखि दमको समस्याबाट पीडित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ शिक्षण अस्पताल, महाराजगञ्जको आईसीयूमा उपचाररत छन्।
१३ दिनदेखि अस्पतालमा भर्ना भएका वैद्यको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमिसहित नेताहरू शिक्षण अस्पताल पुगेका थिए।
उनीहरूले वैद्यको उपचारमा संलग्न चिकित्सक तथा परिवारजनसँग भेटघाट गरी स्वास्थ्य स्थितिको जानकारी लिएका छन्।
नेतृ हिसिला यमिले हिमालप्रेससँग भनिन्, ‘उहाँ अस्पताल भर्ना हुनुभएको १३ दिन भइसकेछ। आज हामीले उहाँको स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी लियौं। सुरुमा उहाँलाई अफठ्यारो अफठ्यारो नै भएको चिकित्सकहरूले भन्नुभयो। अहिले सहज भएको जानकारी दिनुभयो। भित्रचाहिँ जान दिनुभएन।’
जनयुद्धकालका सहयोद्धा समेत रहेका वैद्य र भट्टराई लामो समय कम्युनिस्ट आन्दोलनमा सहकार्य गर्दै आएका थिए।