
काठमाडौँ- किस्ट अस्पताल नेपालकै पहिलो एनएबीएच मान्यता प्राप्त गरेको छ। एनएबीएच मान्यता पाएपछि किस्ट अस्पताल अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने स्वास्थ्य संस्था बनेको छ। अन्तर्राष्ट्रिय रूपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेसनल एक्रिडिएसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब) ले लामो समयको अनुगमन र परीक्षणपछि तोकिएका ६०० भन्दा बढी मापदण्ड पूरा गरेपछि सन् २०२५ अप्रिल २४ मा अस्पताललाई यो मान्यता प्रदान गरेको हो।
अस्पतालका प्रबन्ध निर्देशक अभिषेक थापाले बिरामीको सेवाका लागि थप उत्साही भएको तथा सेवाको गुणस्तरमा सेवाग्राहीले थप विश्वास गर्ने वातावरण बनेको बताए। बिरामीले स्वास्थ्य सेवामा अन्तर्राष्ट्रिय गुणस्तरको उपचार सेवा पाउने अवसर अस्पतालले प्रदान गरेकाले अस्पताललाई थप जिम्मेवार बनाएको उनको भनाइ छ।
के हो नेसनल एक्रिडिएसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब)?
एनएबीएचले भारत तथा भारतबाहिरका स्वास्थ्य सेवा प्रदायकहरूको गुणस्तर मापन गर्ने गर्दछ। न्याबले अस्पताल एक्रेडिएसन कार्यक्रम सन् २००५ मा सुरु गरेको थियो। सार्वजनिक तथा निजी अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्ने र बिरामीको सुरक्षामा ध्यान दिने उद्देश्यले न्याबले यो कार्यक्रम सुरु गरेको थियो।
न्याबको यो कार्यक्रम भारत र भारतबाहिर समेत फैलिएको छ। न्याब इन्टरनेसल सोसाइटी फर क्वालिटी एसुरेन्स इन हेल्थ केयरबाट प्रमाणित भएको छ। न्याबको गुणस्तर मापदण्ड प्राप्त गर्नका लागि अस्पतालले बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा केन्द्रित भएर अस्पतालको सेवा सुधार गर्ने आधार प्रस्तुत गर्नुपर्छ।
अस्पतालको पूर्वाधार, उपकरण लगायतका मापदण्ड पालना गर्नुपर्छ। न्याबको गुणस्तर प्राप्त गर्न अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा प्रमाणित ६०० भन्दा बढी मापदण्डमा परीक्षण गराउनुपर्छ। सेवा सुरक्षादेखि संक्रमण नियन्त्रण, बिरामीको अधिकार, कर्मचारीको तालिम, दस्तावेज व्यवस्थापन, आकस्मिक सेवा तयारी जस्ता धेरै क्षेत्रहरूमा अस्पतालले मापदण्ड पूरा गर्नुपर्छ।