अमेरिकाको लस एन्जलसमा कर्फ्यु

हिमाल प्रेस २८ जेठ २०८२ ११:५४
12
SHARES
अमेरिकाको लस एन्जलसमा कर्फ्यु लस एन्जलसमा संघीय आप्रवासन अभियानको विरोधमा भइरहेका प्रदर्शनका क्रममा 'फेडरल बिल्डिङ' बाहिर पहरा दिँदै क्यालिफोर्निया नेसनल गार्डका सदस्यहरू। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकाको लस एन्जलसमा जारी आप्रवासन कडाइको विरोधमा पाँचौँ दिन प्रदर्शन भइरहेका बेला सहरमा निषेध आदेश (कर्फ्यु) लगाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मी (नेसनल गार्ड) परिचालन तीव्र बनाइरहेका बेला कर्फ्यु लगाइएको समाचार एजेन्सी एपीले जनाएको छ।

लस एन्जलसकी मेयर करेन बासले विरोध प्रदर्शनको नियन्त्रण गर्न लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा गरेकी छिन्। उनले भनिन्, ‘कर्फ्यु राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म लागू हुनेछ। सहरभरि ठूलो क्षति पुगेको छ। यस्तो अवस्थामा कर्फ्यु आवश्यक छ।’

उनले कर्फ्यु केही दिनसम्म रहन सक्ने जनाएकी छन्। करिब १ वर्ग माइल क्षेत्रफल समेटिएको कर्फ्युका कारण सहरको जनजीवन प्रभावित भएको छ। लस एन्जलस प्रहरी विभागले मंगलबार सामूहिक गिरफ्तार सुरु गरेको छ। अवैध रूपमा भेला भएका क्षेत्रहरूबाट आदेश नमानेका कारण उनीहरूलाई पक्राउ गरिएको छ।

लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा लगातार बढ्दो अशान्तिपछि नागरिकहरूको ज्यान जोगाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु लगाइएको बताए। उनले भने, ‘कर्फ्यु तोड्ने जोकोहीलाई पनि पक्राउ गरिनेछ।’

हालसम्म १९७ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। म्याकडोनेलका अनुसार शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र मंगबलबार १९७ जनालाई पक्राउ गरिएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारको विरोधमा जारी प्रदर्शन नियन्त्रण गर्न थप दुई हजार सुरक्षाकर्मी (नेसनल गार्ड सैनिक) परिचालन गर्न अनुमति दिएका थिए। अब विरोध प्रदर्शन नियन्त्रण गर्न संघीय आदेशमा परिचालन गरिएका गार्डको संख्या चार हजार एक सय नाघेको पेन्टागनका प्रमुख प्रवक्तालाई उधृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ।

टेक्सासका गर्भनर ग्रेग एबटले यस साताका योजनाबद्ध प्रदर्शन दृष्टिगत गर्दै राज्यका विभिन्न स्थानहरूमा टेक्सास नेसनल गार्ड परिचालन गरिने बताएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। ट्रम्प प्रशासनविरुद्ध प्रदर्शन न्युयोर्क, सिकागो, सिएटल, डेनभर, सैन फ्रान्सिस्को, एटलान्टाजस्ता सहरहरूमा फैलिएको छ।

प्रकाशित: २८ जेठ २०८२ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast