
बुटवल- दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ को मंगलबार राति बुटवलमा प्रिमियर गरिएको छ। सहकारीपीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकार सँगै बसेर हेरेका हुन्।
प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया उपस्थित थिए। सुप्रिम सहकारीपीडित ५० भन्दा बढी सहकारी पीडितहरूले हेरेपछि आफ्नै कथा बोलेको प्रतिक्रिया दिए। फिल्ममा देखाइएजस्तै अवस्था सहकारी पीडितको कथा रहेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए।
‘सहकारीपीडित ७२ लाखभन्दा बढी छन्, ८४ को निर्वाचनमा जनताले देखाउनेछन्, जुन कुरा चलचित्रले पनि संकेत गरेको छ’, उनले भने।
उनले बुटवलमा सहकारी पीडितले गरेको आन्दोलनका क्लिपस् पनि राखेको भए अझै उत्तम हुने सुझाव दिए। सामाजिक कथामा आधारित फिल्म भएकाले कलाकारले विषयवस्तुलाई न्याय दिलाउने गरी अभिनय गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललले बताए।
उनले सहकारीसँगै सहरिया बुहारी र गाउँले सासूको दृश्य र राजनीतिक दुरुपयोगको कथालाई उतारेको बताए। सामाजिक परिवेशको सशक्त फिल्मका रूपमा रहने उनको विश्वास छ।
सहकारी पीडितहरूले आफूहरूले अहिलेसम्म न्याय नपाएको बताउँदै फिल्ममा जस्तै सरकारले न्याय दिलाउन नसके विद्रोह हुनसक्ने आक्रोशसमेत पोखेका थिए। फिल्मका निर्देशक दिनेश राउतले बुटवलका दर्शकको प्रतिक्रियाले उत्साही बनाएको बताए। उनले फिल्ममा सहकारीको पैसा अपचलन एउटा प्रवृत्तिका रूपमा देखा परेकाले समाजको कथालाई उतारिएको बताए।
नायक आर्यन सिग्देलले दर्शकले आफूहरूको कथा नै देखाइएको प्रक्रियता आएकाले महाभोजमा दर्शकको साथ पाउने अपेक्षा गरे। नायिका अञ्जना बराइलीले बुटवलका सहकारी पीडितहरूसँगै बसेर फिल्म हेर्दा यसले सकरात्मक ऊर्जा दिएको बताइन्।
‘यो त हाम्रै कथा रहेछ भनेर प्रतिक्रिया दिनुभएको छ, आशा छ बुटवलका दर्शकले साथ दिनुहुनेछ’, उनले भनिन्।
अर्की नायिका मलिका महत, कलाकार बुद्धि तामाङले फिल्ममा समाजकै कथा बोलेकाले साथ दिन आग्रह गरे। ‘महाभोज’को काठमाडौँपछि पोखरा र त्यसपछि बुटवलमा प्रिमियर गरिएको हो। निर्माता हिमाल कडरियाले विराटनगर र धरानमा पनि प्रिमियर समारोह गर्ने बताए।
फिल्म यही जेठ ३० गतेबाट प्रदर्शन हुनेछ।