
काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।
जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्।
सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । त्यसैले आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्छ कि गर्दै भन्ने निश्चित छैन।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।