नेसपा (नयाँ शक्ति)का गण्डकी प्रदेश र कास्की संयोजकसहित १४ जना माओवादीमा प्रवेश

हिमाल प्रेस २७ जेठ २०८२ २०:५२
42
SHARES
नेसपा (नयाँ शक्ति)का गण्डकी प्रदेश र कास्की संयोजकसहित १४ जना माओवादीमा प्रवेश

पोखरा- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का गण्डकी प्रदेश अध्यक्ष किरण थापा (आमोद) र कास्की जिल्ला संयोजक राजु क्षत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीका प्रदेश अध्यक्ष र जिल्ला संयोजकसहित १४ जना माओवादीमा प्रवेश गरेका हुन्।

जनयुद्धकालीन माओवादी नेताहरु किरण र क्षत्री पार्टी विभाजन हुँदा डा. भट्टराईतिर लागेका थिए। किरण नयाँ शक्तिको सचिवालय सदस्यसम्म पुगेका थिए। यस्तै पार्टी प्रवेश गर्नेहरुमा शम्भु खाती, लक्ष्मी खाती लगायत पनि रहेको पार्टीका गण्डकी अध्यक्ष गायत्री गुरुङले बताइन्।

मंगलबारदेखि पोखरामा सुरु माओवादी केन्द्र पोखरा महानगरपालिका समितिको तेस्रो सम्मेलन उद्घाटन समारोहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे। हाल प्रतिक्रान्तिको खतरा बढ्न थालेको भन्दै उनीहरुले माओवादी आन्दोलनलाई साथ दिन पुरानै पार्टी फर्किएका प्रस्ट पारेका छन्।

प्रचण्डसँग किरण थापा (आमोद) र राजु क्षत्री।

सो अवसरमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले विभाजित पार्टी मात्रै एकीकरणको अभिभारा नभई राष्ट्रलाई पनि एकीकरण गर्नुपर्ने बताए। उनले राष्ट्र जोगाउने दायित्व आफूहरुको काँधमा आएको उल्लेख गर्दै अहिलेको सरकार दलाल र पुँजीपतिको पक्षमा केन्द्रित रहेको आरोप लगाए।

२०६४ सालको चुनावमा जनताले दिएको अपार विश्वास जोगाउन नसक्दा पार्टी कमजोर बन्दै गएको स्वीकार्दै अब सर्वहारा वर्गको पक्षमा पार्टीलाई उभ्याउन संकल्प गरे। उनले आफ्नो पार्टीले नेतृत्व गरेको पालिकामार्फत देशैभर समाजवादको बिउ रोप्नुपर्ने आवश्यक औंल्याए।

माओवादीको पछिल्लो अभियानमा करिब १ करोड जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएको उनले उल्लेख गरे। विभिन्न जातीय संगठनलाई पार्टीले पुनःजागृत गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको माओवादीसँग पनि छिट्टै एकीकरण हुने विश्वास व्यक्त गरे। उनले पोखरा क्षेत्रका सुकुमबासी तथा दलित समुदायको समस्या समाधान गर्न पार्टी प्रतिबद्ध रहेको बताए।

गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले विभिन्न आरोह-अवरोहबीच पार्टी संचालन भइरहेको जनाउँदै सम्मेलन पर्व जस्तै भएको बताइन्। पार्टीका कास्की संयोजक विश्वप्रकाश लामिछानेले जिल्ला क्रमशः माओवादीमय बन्दै गइरहेको दाबी गरे।

सो अवसरमा पार्टीका पोखरा क्षेत्रका पुराना कम्युनिष्ट नेतालाई मरणोपरान्त सम्मान गरियो। सम्मानित हुनेमा महानगर सदस्य मसिना विक, पोखरा १४ का पूर्व अध्यक्ष शिवराज कँडेल, २६ का पूर्व अध्यक्ष धनबहादुर विक र माओवादी नेता सुरेशराज राजभण्डारी छन्। सम्मेलन २ दिनसम्म चल्ने पोखरा महानगर अध्यक्ष हरिनारायण गिरीले बताए।

प्रकाशित: २७ जेठ २०८२ २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast