
काठमाडौं- एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लाओससँग २-१ को हार व्यहोरेको छ। मंगलबार लाओसको राजधानी भियन्टियानस्थित लाओ नेसनल रंगशालामा भएको खेलमा घरेलु टोलीले नेपालविरुद्ध ऐतिहासिक पहिलो जित हात पारेको हो।
लाओसका लागि डामोथ थोङखामसाथ र पिटर फानथाभोङले गोल गरे। नेपालका लागि मनिष डाँगीले पेनाल्टीमार्फत एक गोल फर्काए।
यो नेपालको छनोट चरणमा लगातार दोस्रो हार हो। यसअघि नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो।
यस खेलमा कृतिशरत्न छुन्जुले नेपाली टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका छन्। नेपालले अब आफ्नो तेस्रो खेल ९ अक्टोबरमा भियतनामसँग खेल्नेछ।
तेस्रो चरणमा नेपाल सम्मलित समूहमा लाओस, मलेसिया र भियतनाम छन्। होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ वटा खेल खेल्नेछन्। समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणमा सहभागी हुन पाउनेछ।