
रुकुम पश्चिम- गायिका रचना रिमाल बिरामी परेपछि रुकुम पश्चिमबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। सानीभेरी गाउँपालिका-३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन पुगेकी गायिका रिमाल अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको हो।
मंगलबारका लागि कार्यक्रम तय भएको थियो। तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो।
सानीभेरी रंगलशालामा गत जेठ १२ गतेदेखि आयोजना भइरहेको सांस्कृतिक महोत्सवमा सहभागी हुन रिमाल सोमबार आइपुगेको आयोजक डिल्ली परियारले जानकारी दिए।
‘महोत्सवमा आज उनको प्रस्तुति रहने गरी हामीले तयारी गरेका थियौं। तर बिहान एक्कासि पेट दुख्यो भनेपछि तत्काल चौरजहारी अस्पताल पुर्याइयो। तर त्यहाँ उपचार नहुने देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगियो। त्यहाँबाट आजै बुद्ध एयरको जहाजमार्फत काठमाडौं पुर्याइएको छ,’ उनले भने।
गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरी उपचार भइरहेको छ।