लस एन्जलसमा तनाव : थप दुई हजार सुरक्षाकर्मी तैनाथ

हिमाल प्रेस २७ जेठ २०८२ ९:५३
18
SHARES
लस एन्जलसमा तनाव : थप दुई हजार सुरक्षाकर्मी तैनाथ लस एन्जलसको डाउनटाउन क्षेत्रमा सोमबार राष्ट्रपति ट्रम्पको विरोधमा उत्रिएका प्रदर्शनकारी। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारको विरोधमा जारी प्रदर्शन नियन्त्रण गर्न थप दुई हजार सुरक्षाकर्मी (नेसनल गार्ड सैनिक) परिचालन गर्न अनुमति दिएका छन्। अब विरोध प्रदर्शन नियन्त्रण गर्न संघीय आदेशमा परिचालन गरिएका गार्डको संख्या चार हजार एक सय नाघेको पेन्टागनका प्रमुख प्रवक्तालाई उधृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ।

पेन्टागनका प्रमुख प्रवक्ता सान पार्नेलले थप दुई हजार नेसनल गार्डका जवानलाई लस एन्जलस पठाउन लागिएको बताए।

उनले भने, ‘राष्ट्रपतिको आदेशअनुसार रक्षा विभागले क्यालिफोर्निया नेसनल गार्डका अतिरिक्त दुई हजार जवानलाई ड्युटीमा बोलाएको छ। उनीहरूले आईसीई (आप्रवासन नियन्त्रण एजेन्सी) लाई सहयोग गर्न सकून् र संघीय कानुन कार्यान्वयन अधिकारीलाई सुरक्षित रूपमा आफ्नो काम गर्न सहयोग पुर्‍याउन सकून् भनेर थप सुरक्षा बल खटाइएको हो।’

यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेका विरोध प्रदर्शनहरू रोक्न दुई हजार नेसनल गार्ड  तैनाथ गर्ने आदेश दिएका थिए।

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरमा अमेरिकी आप्रवासन एजेन्सीद्वारा अवैध आप्रवासीमाथि गरिएको छापामारको विरोधमा लगातार चार दिनदेखि प्रदर्शन भइरहेका छन्।

केही घण्टाअघि मात्र पेन्टागनले करिब सात सैनिक लस एन्जलसमा भइरहेको प्रदर्शन नियन्त्रणका लागि पठाएको थियो। लस एन्जलसमा जारी आप्रवासनविरुद्धका विरोध प्रदर्शन सोमबार राति अबेरसम्म जारी छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी र सुरक्षाकर्मी सक्रिय रूपमा खटिएका छन्।

सहरका भीडभाडयुक्त क्षेत्र जस्तै ‘लिटिल टोकियो’ मा प्रहरी र प्रदर्शनकारीबीच केही स्थानमा तनावपूर्ण स्थिति देखिएको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न सामान्य बल प्रयोग गरेको छ। प्रदर्शनकारीहरूले पनि पटाका पड्काएर पानीका बोतलहरू फ्याँकेका छन्। हालसम्मको अवस्था हेर्दा प्रदर्शनहरू अझ लम्बिने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast