
काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीयता प्रभावकारी बनाउन स्थानीय तह र प्रदेश सरकारलाई आवश्यकभन्दा बढी साधनस्रोत प्रदान गर्नुपर्ने बताएका छन्।
सोमबार आयोजित ‘संघीयतामा बजेट’ सम्बन्धी कार्यक्रममा बोल्दै भट्टराईले हालसम्म पनि केन्द्रिकृत मानसिकता कायम रहेको उल्लेख गर्दै त्यसलाई हटाउँदै संघीय अभ्यासलाई सुदृढ गर्दै लैजानुपर्ने बताए।
उनका अनुसार अधिकारको बाँडफाँडदेखि लिएर तीनै तहबीचको सम्बन्धमा पुनरावलोकन आवश्यक भइसकेको छ।
‘पुनरावलोकनको कुरा गर्दा संघीयता खारेज गर्नुपर्छ भन्न खोजिएको होइन,’ उनले भने, ‘बरु अहिलेको संघीयतालाई झन् प्रभावकारी बनाउनुपर्छ। स्थानीय र प्रदेश सरकारलाई थप अधिकार, स्रोत र कार्यान्वयन क्षमता दिइनुपर्छ। केन्द्रले नीतिगत र महत्वपूर्ण जिम्मेवारीहरू लिँदै बाँकी जिम्मेवारीहरू चरणबद्ध रूपमा तल सर्नुपर्छ।’
भट्टराईले स्थानीय तहको संख्या धेरै भएको चर्चा गर्दै त्यसलाई घटाएर वडाको संख्या बढाउने प्रस्तावमाथि छलफल सुरु भइसकेको जानकारी पनि दिए।
‘हाल ७५३ स्थानीय तह छन् जुन धेरै भएको हो,’ उनले भने, ‘यदि घटाएर करिब ५०० आसपास ल्याउन सकिन्छ भने ल्याऔं तर वडाहरूको संख्या बढाऔं भन्ने प्रस्तावमाथि बहस भइरहेको छ।’