बाढीको त्रास : रातभर सुत्न सक्दैनन् बागमती आसपासका बासिन्दा

हिमाल प्रेस २७ जेठ २०८२ ७:५८
16
SHARES
बाढीको त्रास : रातभर सुत्न सक्दैनन् बागमती आसपासका बासिन्दा बागमती नदी

सर्लाही- चुरे क्षेत्रको खोँच छिचोल्दै बग्ने बागमती नदीको बाढीले हरेक वर्ष सर्लाही र आसपासका बस्तीलाई त्रसित बनाउँदै आएको छ। मनसुन सुरु भएसँगै बागमती किनारका बासिन्दा पुनः विस्थापनको डरमा छन्।

बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोका अनुसार हरेक वर्ष बाढीको त्राससाथ बर्खा बिताउने बाध्यता दोहोरिइरहेको छ। ‘वर्षा सुरु भएपछि रातभरि निन्द्रा लाग्दैन,’ उनले भने,‘गत वर्ष खोलाले ड्याम फुटाएर गाउँ डुबायो, ज्यान बचाउन भाग्नु परेको थियो।’

गत वर्ष बागमतीको बाढीले बसवरिया, रामनगर र बलरा नगरपालिका क्षेत्रलाई डुबानमा पारेको थियो। रामनगर–१ का वडाध्यक्ष दिनेश यादवका अनुसार बाढीले खेत, बस्ती र सडक डुबानमा पारेपछि धेरै स्थानीय विस्थापित हुन बाध्य भए।

छर्की टोलका विश्वनाथ मुखिया भन्छन्, ‘बाढीले हाम्रो फुसको छानो र खरको घर बगायो, हामी हप्तौँसम्म डुबानमा थियौँ। अब फेरि उस्तै हालत नहोस् भन्ने चिन्ताले सताउन थालिसक्यो।’

चुरेबाट बगेको बागमती नदी दक्षिणतर्फ बढ्दै जाँदा झन्डै तीन किलोमिटर फराकिलो बन्दै भारत प्रवेश गर्छ। तर, बाढीको बहाव खेलाभन्दा खेत र बस्ती हुँदै बग्ने हुँदा जनधनको क्षति भयावह हुने गरेको बलरा–१ का हरिशरण कापरले बताए। ‘गत वर्ष बाढीले मेरो घरको अन्नसमेत बगाएर लग्यो,’ उनले भने।

स्थानीय सरकारको प्रभावकारी पूर्वतयारीको अभावले बर्सेनि समस्या दोहोरिने गरेको उनीहरूको गुनासो छ। ‘राहतभन्दा पहिला क्षति न्यूनीकरणमा ध्यान दिनुपर्छ,’ कापरको भनाइ छ।

तर, स्थानीय तहले भने विपद् पूर्वतयारीमा ध्यान दिएको दाबी गरेका छन्। बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीको समन्वयमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको छ। ‘बाढी, डुबान र आगलागीका घटनामा स्थानीय युवालाई तालिम दिएर परिचालन गर्न सक्ने बनाएका छौँ,’ उनले भने।

गत वर्ष असारमा आएको बाढीले बलरा, रामनगर, धन्कौल र बसवरियाका अधिकांश वडामा डुबान, खानेपानी अभाव र विद्यालय बन्दजस्ता समस्या निम्त्याएको स्थानीय सञ्चारकर्मी जितेश यादवले जानकारी दिए।

नेपालतर्फ स्वतन्त्र रूपमा बग्ने बागमतीलाई भारतले सीमा क्षेत्रमा ड्याम र एसएसबी सडक निर्माण गरेर नियन्त्रण गरेको छ। जसका कारण वर्षात्को समयमा पानी फर्केर नेपाली भूभागमा क्षति पुर्‍याउने गरेको स्थानीयले बताए।

प्रकाशित: २७ जेठ २०८२ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast